काठमाडौं : चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। यो गत वर्षको सोही अवधिमा संकलित ३ अर्ब १६ करोड ७६ लाखभन्दा करिब ५ करोड ६५ लाख बढी हो।
महानगरले चालू वर्षका लागि १५ अर्ब ११ करोड ४३ लाख रूपैयाँ असुली लक्ष्य तोकेको छ। गत वर्षको लक्ष्य १२ अर्ब ९० करोड रूपैयाँ थियो।
आन्तरिक राजस्वमा भने कमी देखिएको छ। चालू वर्ष १ अर्ब ९६ करोड रूपैयाँ संकलन भएको छ, जुन गत वर्षको १ अर्ब ९९ करोड भन्दा करिब २ करोड २० लाख कम हो। महानगरका अनुसार सम्पत्ति कर घट्नुको मुख्य कारण कर दरमा भएको समायोजन हो।
राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार, “गत वर्ष मालपोतले ठूला भवनधनीको करदर बढाएको थियो जसले राजस्व बढायो, तर साना घरधनीको घटायो। चालू वर्ष पुरानै दरमा कर संकलन हुँदा कमी आएको हो।”
त्यसैगरी, बहाल कर र व्यवसाय करमा वृद्धि देखिएको छ। बहाल कर चालू वर्ष १ अर्ब २ करोड संकलन भएको छ भने व्यवसाय कर २३ करोड ३२ लाख पुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij