पोखरा : पोखरा र भुटानको पारोसम्म सीधा हवाइ उडानले जोडिएको छ । मंगलबार भुटान एयरको पोखरा–पारो पहिलो सिधा उडान सुरु भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानबाट पहिलो औपचारिक उडान सुरु भएको हो ।भुटानस्थित पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट रित्तै आएको विमानले पोखराबाट ९ जना पाहुना लिएर पारोमा अवतरण गरेको हो । पोखराका मेयर धनराज आचार्यका अनुसार पूर्व निर्धारित यात्रुहरू विशेष कारणले सहभागी हुन सकेनन् ।
भुटान एयरलाइन्स र युनिभर्सल टुर्स एण्ड ट्राभलले नियमित चार्टर उडान गर्ने प्रतिबद्धता यसअघि नै गरेको थियो । ‘आज पोखराबाट पारोका लागि पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको छ र हामी निकट भविष्यमै नियमित सिधा उडान सञ्चालन हुने अपेक्षा राखेका छौँ,’ उनले भने, ‘महानगरको तर्फबाट धेरै धन्यवाद ज्ञापन गर्दछौँ ।’
अक्टोबरबाट सुरु हुने भनिएको पूर्वनिर्धारित उडान नेपालमा भएको जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने एयरलाइन्सले जनाएको मेयर आचार्यले जानकारी दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij