खोटाङ : खोटाङ कारागार करिब एक वर्षदेखि स्वास्थ्यकर्मी विहीन रहेको पाइएको छ। गत वर्ष पुसमा कार्यरत अहेब काजमा गएपछि हालसम्म फर्केका छैनन्। करिब १ सय ४० जना कैदीबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मी नहुँदा आधारभूत उपचारका लागि कैदीबन्दीलाई जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता परेको छ। गाडी नहुँदा बिरामीलाई भाडामा गाडी लिएर करिब ६ किलोमिटर टाढाको जिल्ला अस्पताल दिक्तेल लैजानुपरेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी दिनुभयो।
कारागारमा हाल ३ महिला र १ सय ३७ पुरुष कैदीबन्दी रहेका छन्। स्वास्थ्यकर्मी नहुँदा समस्या बढी देखिएको छ। अदालतमा लैजाने क्रममा गाडी अभावले हतकडी लगाएर बिच बजारमा हिँडाउनु पर्ने बाध्यता रहेको र यसले गोपनीयता अधिकार हनन हुने कारागार प्रमुखले बताएका छन्।
सुरक्षामा पनि चुनौती छ। कारागारमा वैकल्पिक बत्ती नभएकाले विद्युत् जाने बेलामा अन्धकार हुने र सुरक्षा जोखिम बढ्ने अवस्था छ। भदौ २३–२४ गतेको जेनजी आन्दोलनका बेला यो समस्या विशेष गरी देखा परेको थियो।
भवन संरचनासँग सम्बन्धित समस्याहरू पनि छन्। माटो खारेर बनाइएको कारागार भवनहरूमा जमिन भास्ने र पर्खाल चर्किने क्रम जारी छ। तल्लो भाग भासिएर वाल भत्किएको छ र भवन २०७२ सालको जतिकै भूकम्प आएमा भत्किन सक्ने अवस्था छ। कारागार प्रशासनले स्वास्थ्यकर्मी, वैकल्पिक बत्ती र भवन सुधारको आवश्यकतामा जोड दिएको छ।