Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौं : ‘एन एजुकेटेड वुमन, अ ट्रान्सफम्र्ड नेसन’ भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राइज चेतना पहिलो, टिम बटरफ्लाई दोस्रो र टिम नमस्ते तेस्रो बन्न सफल भएका छन् । विजेताहरूले क्रमशः पचास हजार, पैँतीस हजार र बीस हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, ट्रफी, द आरकेएस उपहारको गिफ्ट ह्याम्पर तथा स्किल स्पार्कका सबै तालिममा पचास प्रतिशत छुट प्रदान गरिएको छ।

प्रि–इभेन्टतर्फ टिम फिनिक्सले उत्तिकै प्रभावकारी प्रस्तुति दिँदै पाँच हजार रुपैयाँ नगद, ब्रान्डेड इयरबड, प्रमाणपत्र, ट्रफी तथा तालिममा छुट सुविधा प्राप्त गर्दै विजेता बनेको छ। मुख्य अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले महिला शिक्षालाई राष्ट्र रुपान्तरणको आधार बताउँदै महिलालाई पढाइबाट टाढा राख्ने सबै अवरोध हटाउन राज्य र समाज दुवैले गम्भीर पहल गर्नुपर्ने धारणा व्यक्त गरिन् । महिला शिक्षित भए घर, समाज र राष्ट्रको दिशा बदलिने उनको भनाइ छ ।

विशिष्ट अतिथि राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले महिला शिक्षाबारे विवाद नभएको, तर महिलालाई अघि बढ्न नदिने वास्तविक कारण पहिचान गरी समाधानमुखी कदम चालिनुपर्ने समय आएको बताए। उनका अनुसार अब बहस होइन, प्रत्यक्ष कार्यान्वयनको आवश्यकता छ।

युवा नेतृ ममता शर्माले एउटी महिला शिक्षित हुँदा एक सम्पूर्ण पुस्ता शिक्षित हुने भएकाले महिला शिक्षा राष्ट्र विकासको मूलढोका भएको भनाइ राखिन्। उनले युवाहरूले प्रतिस्पर्धामार्फत देखाएको आत्मविश्वासले समाजमा सकारात्मक ऊर्जा भरिएको उल्लेख गरिन्।

एलबीइएफका प्रमुख सञ्चालक अधिकृत सुनिल ओझाले स्किल स्पार्कले युवाहरूको क्षमता पहिचान गरी देशका लागि सीपयुक्त जनशक्ति तयार गर्न उल्लेखनीय योगदान गरिरहेको बताए। उनका अनुसार यस्ता प्रतियोगिताले युवा पुस्ताको आत्मविश्वास र व्यावहारिक क्षमतालाई अझ मजबुत बनाउँछ।

निर्णायकका रूपमा सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, क्यान महासङ्घकी कार्यवाहक अध्यक्ष सृजना श्रेष्ठ, डिजिटल अभियन्ता हरिराम रिमाल, मोटिभेशनल वक्ता तथा मिडियाकर्मी संगम महत तथा लियो मल्टिपल डिष्टिक्ट ३२५ की अध्यक्ष अस्मिता लमिछानेले रहेकी थिइन् ।

निर्णायकहरुले सहभागी युवाहरूको प्रस्तुतिमा देखिएको परिपक्वताको प्रशंसा गर्दै सहभागीहरूको प्राविधिक दक्षता, नेतृत्व क्षमता र टीम–वर्कले कार्यक्रमको स्तर उच्च बनाएको टिप्पणी गरे । उनीहरुले युवाहरूको प्रस्तुति देशको भविष्यप्रतिको आशा र उत्साहको प्रतिनिधि भएको र सहभागी युवाहरूको सिर्जनशीलता, अनुशासन र लगनशीलता हेर्दा नेपालको भविष्य सुरक्षित हातमा रहेको अनुभूति भएको बताए । आयोजक स्किल स्पार्ककी संस्थापक ई. सिर्जना झाले सहभागी हुनुलाई नै जितको प्रतिक बताउँदै, युवाहरूले देखाएको प्रतिबद्धता, क्षमता र मेहनतले स्किल स्पार्कको उद्देश्य सीप आधारित शिक्षा र अवसर विस्तारलाई अझ बलियो बनाएको टिप्पणी गरिन्।

कार्यक्रमको थिमअनुसार, शिक्षित महिलाले परिवारदेखि राष्ट्रसम्ममा असल मार्गदर्शन गर्न सक्ने क्षमता राख्छिन् भन्ने सन्देशलाई प्रतियोगिताले स्पष्ट रूपमा स्थापित गरेको छ। यस च्याम्पियनशिपले युवा पुस्तालाई सिर्जनशीलता, नेतृत्व, प्रविधि र सामाजिक उत्तरदायित्वप्रति झनै प्रेरित बनाएको छ ।

स्किल स्पार्क एक आईटी तालिम संस्था हो, जसले प्रविधि तथा पेशागत तालिमसँगै इन्टर्नसिप तथा रोजगारीसमेत उपलब्ध गराउँदै आएको छ। महिलालाई सशक्त, आर्थिक रूपमा सक्षम र प्रविधि–मैत्री बनाउन गरिएको यो प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा राखिएको छ।

कार्यक्रमलाई सफल बनाउन लर्ड बुद्ध एजुकेसन फाउन्डेसन टाइटल स्पोन्सरको रुपमा रहेको थियो भने हिमालय कलेज अफ इन्जिनियरिङ, डायनामिक टेक्नोसफ्ट, दि आर.के.एस उपहार प्रायोजकका रुपमा रहेका थिए । त्यस्तै टेक्नोलोजी पार्टनरमा टेक्नोस्पायर र कन्सल्टेन्सी पार्टनरको रुपमा करियर क्याटालिस्ट रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट