काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दर्ता भएको रिटमाथिको सुनुवाइ आइतबारबाट सर्छी मंसिर १ गते सोमबारका लागि तोकिएको छ। आइतबार नै हेर्नुपर्ने तयारी भए पनि अर्को सम्बद्ध मिसिल समेत एकैपटक पेश गर्नुपर्ने भएकाले समय सारिएको वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिए।
रिटमाथिको सुनुवाइ न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा हुनेछ।
गत मंगलबार मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।
यसअघि रिकी यादवसहितले दायर गरेको अर्को रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२)(क) अनुसार उक्त आदेश जारी गरेको हो।