Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मौलाकालिका मन्दिर : धार्मिक आस्था र पर्यटनको आकर्षक गन्तव्य

मौलाकालिका मन्दिर : धार्मिक आस्था र पर्यटनको आकर्षक गन्तव्य

नवलपुर : नवलपुर, तनहुँ तथा चितवन जिल्लाको मनोरम प्राकृतिक वातावरण दृश्यावलोकनका लागि ‘भ्यूटावर’ सरह आकर्षक स्थल बनेको नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिर धार्मिक आस्था र पर्यटन दुवै दृष्टिले महत्वपूर्ण गन्तव्य बन्दै गएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक मौलाकालिका मन्दिर प्रसिद्ध हिन्दु देवी माता कालिका को मन्दिर हो । यो मन्दिर पूर्व–पश्चिम राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्री सतहदेखि ५६१ मिटर उचाइमा रहेको वनको टाकुरामा अवस्थित छ । इतिहास अनुसार, १६औँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको प्रतीकस्वरूप यस स्थानमा मौला स्थापना गरी पूजाआजा सुरु गरेपछि यस क्षेत्रको पहाडलाई ‘मौला पहाड’ नाम दिइएको हो ।

हिन्दू पौराणिक मान्यताअनुसार देवी काली (कालिका माई) शक्ति, ऊर्जा र नयाँ शुरुआतको प्रतीक हुन् । मन्दिरका प्रमुख संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक (डिआईजी) ज्ञानेन्द्र विक्रम महतकाअनुसार हरेक वर्ष नेपालका विभिन्न भागहरू सहित भारतलगायत छिमेकी मुलुकबाट हजारौँ भक्तजन यहाँ पूजा–आराधना गर्न आउने गर्छन् । पर्यटकहरू यहाँ कालिका माताको दर्शनसँगै चिसो बतास, हरियाली जङ्गल, गैँडाकोट, देवघाटधाम तथा भरतपुरको बजार र टाढा देखिने हिमशृङ्खला तथा सूर्योदयसहितको मनोरम दृश्य अवलोकन गर्न आउने गरेका महतले बतउनुभयो ।

मन्दिर पुग्न हिँडेर जाँदा फेदीबाट एक हजार ८८२ वटा सिँढी चढ्नुपर्ने हुन्छ । कतिपय मानिसहरू दैनिक शारीरिक व्यायामका लागि पनि यसै बहानामा यहाँ पुग्ने गर्छन् । करिब दुई वर्ष अगाडि मौलाकालिका मन्दिरसम्म पुग्न छोटो दूरीको केबलकार सेवा सञ्चालनमा आएको भए पनि भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केबलकारको तल्लो स्टेशनमा भएको आगजनी र तोडफोडले केबलकार पूर्णरुपमा बन्द छ । नारायणगढबाट नारायणी पुल पार गरेपछि करिब दुई किलोमिटरमा मन्दिरको प्रवेशद्वार पुगिन्छ ।

त्यहाँबाट केबलकारमार्फत पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ । साथै मौसम सफा र सुख्खा रहँदा साना सवारीसाधन तथा स्थानीय अटो–रिक्साबाट करिब साढे पाँच किलोमिटरको यात्रापछि मन्दिरसम्म पुग्न सकिन्छ । शारीरिक कसरत गर्ने स्थानीय तथा सुरक्षा निकायमा भर्ती हुन तालिम गर्ने युवाहरु नियमित मन्दिरमा पुग्ने गरेका छन् ।

गैँडाकोट–२ का १८ वर्षीय मनोज पुनले आफू नियमित मौलाकालिका मन्दिरमा दौडिएर पुग्ने गरेको बताउनुभयो । मन्दिर दर्शन गर्न जाने मानिसहरु हिडेर करिब एक घण्टामा मन्दिर पुग्ने गरेको अवस्थामा पुन भने २० मिनेटमा उकालो उक्लिएर मन्दिर पुग्ने गरेको बताउनुहुन्छ । “हामी नियमित रुपमा दौडिदै मन्दिरमा आउने गर्छौँ, फेदीबाट हिँडेको २०–२५ मिनेटभित्रै मन्दिरमा आउँछौँ” उहाँले भन्नुभयो, “उकालोमा दौडिँदा दौडको प्राक्टिस (अभ्यास)सँगै यहाँ आएर विभिन्न एक्सरसाइज (व्यायम) गर्न पाइन्छ, जसले भर्ती हुन जाँदा फिजिकल (शारीरिक तन्दुरुस्ती)मा फाइदा पु¥याउँछ ।”

मौलाकालिका मन्दिरको सिँढी मार्गमा बिहान ४ बजेदेखि नै कसरत गर्ने र मन्दिर दर्शन गर्न आउनेहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ । मन्दिरमा आएर केही बेर ध्यान गर्दा नै आफ्नो मन शान्त हुने गरेको चितवनको भरतपुर–३ नारायणघाटका बालगोपाल चुकेले बताउनुभयो । “हामी हरेक शनिबार बिहान मौलाकालिका माताको दर्शन गर्न मन्दिर आउने गरेका छौँ” उहाँले भन्नुभयो, “हिँडेर आउँदा केही थकान महसुस भए पनि मन्दिर पुगेपछि सबै थकान मेटिएको अनुभव हुन्छ ।”

मन्दिरको वातावरण र यहाँबाट देखिने दृश्यावलोकनले मन आनन्दित हुने चुकेको भनाइ छ । शहरी क्षेत्रबाट नजिकै रहेको यस मन्दिर पूजाआजासँगै युवापुस्तामा बढ्दै गरेको ‘हाइकिङ’ (छोटो दूरीको हिँडाइ)का लागि समेत महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । मन्दिरको सिँढी उक्लिने क्रममा थकाइ लागेको अवस्थामा विश्रामका लागि हरेक पाँच पाँच मिनेट दूरीमा सिँढीमार्ग सँगै विश्रामस्थल, प्रतिक्षालय, खानेपानी, शौचालय लगायतको व्यवस्था गरिएको छ ।

मौलाकालिकाको शिखरबाट नवलपरासी, चितवन, तनहुँ र गोर्खाका अग्ला डाँडा, भिरपाखा तथा मनोरम हिमशङ्खलाहरू स्पष्ट देख्न धार्किक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । “यहाँबाट पवित्र तीर्थस्थल देवघाटधाम, नारायणी नदी, नवलपुर र चितवनका समथर भूभाग तथा चितवन राष्ट्रिय निकुञ्जको हरियाली जंगलले दृश्यलाई अझ मोहक बनाउँछ” उहाँले भन्नुभयो, “हिउँदको समयमा मन्दिरबाट देखिने सूर्योदयको दृश्य तथा कुहिरोले ढाकिएको नवलपुर तथा चितवनको दृश्य निकै नै महमोहक हुन्छ ।” मौलाकालिकाको शान्त वातावरण, सुन्दर भू–दृश्य र धार्मिक आस्थाले यो स्थानलाई मध्यनेपालकै प्रमुख धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा परिचित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij