Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मधेशमा धान उत्पादनमा कमी आउने

मधेशमा धान उत्पादनमा कमी आउने

वीरगञ्ज : धान बाली लगाउने बेलामा मधेश प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यो वर्ष मधेश प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ।कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यो वर्ष धान बाली लगाउने र भित्र्याउने समयमा प्रतिकूल मौसमको कारणले मधेश प्रदेशमा धान उत्पादन घट्ने अनुमान गरेको बताए।

“अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कले मधेश प्रदेशमा करिब २० प्रतिशतसम्म धान उत्पादन घट्ने अनुमान गरेका छौँ”, उनले भने, “धानबाली लगाउने वेला मधेश प्रदेशमा देखिएको सुक्खायामको कारणले धानखेती हुने कुल क्षेत्रफलमध्ये १३ प्रतिशतमा रोपाइँ हुन सकेन।”

उनले धानबाली भित्र्याउने समयमा परेको वर्षातको कारणले धानबालीमा ठूलो असर पारेको उल्लेख गरे। निर्देशनालयका अनुसार मधेश प्रदेशमा करिब १३ लाख मेट्रिकटन धान उत्पादन हुन्छ। यो वर्ष भने करिब १० लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ।

निर्देशनालयका अनुसार मधेश प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टर छ। तीमध्ये ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले मधेश प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि गरी उत्पादकत्व बढाउनेतर्फ अग्रसर रहँदै आइरहेको बताए।

“प्रदेश सरकारका भएका प्रविधिको उच्चतम प्रयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्न लागिरहेका छौँ”, उनले भने, “प्राविधिकहरूको दक्षता अभिवृद्धि समग्र कृषि क्षेत्रलाई सुधार्नेतर्फ अग्रसर भइरहेका छौँ।”कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशका प्रमुख विश्वेरप्रसाद यादवले प्रदेशस्तरमा कार्यरत रहेका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गरेर कृषिमा लागत घटाउँदै उत्पादकत्व बढाउन अभिमुखीकरण गरिएको जानकारी दिए।

“कृषि क्षेत्रमा भएको यन्त्रीकरण र प्राविधिक विषयलाई कृषकमाझ पुर्‍याउन यस्ता खालका कार्यशाला गोष्ठी गर्दै आइरहेका छौँ”, उनले भने, “यसले कृषि क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्धानका कार्यलाई हस्तान्तरण गर्नका लागि मद्दत पुर्‍याउनेछ।”

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट