Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भरतपुरका मसाज सेन्टरमा यौन व्यवसाय सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक

भरतपुरका मसाज सेन्टरमा यौन व्यवसाय सञ्चालन हुँदै आएको तथ्य सार्वजनिक

चितवन : भरतपुर महानगरपालिका भित्र संचालनमा रहेका मसाज सेन्टरहरुमा यौन व्यवसाय संचालन हुने गरेको तथ्य सार्वजनिक भएको छ । मसाज सेन्टर संचालकहरुले सेवा लिन आउने ग्राहकले राखेको यौन प्रस्ताव स्विकार गरी आफुहरुलाई त्यस किसीमको गतिबिधिमा संलग्न गराउन बाध्य पार्ने गरेको श्रमिकहरुलाई उदृत गर्दै एक अधिकारकर्मीले बताउनु भएको छ ।

मसाज सेन्टरमा आउने ग्राहकहरुलाई सबै स्टाफ देखाई रोज्न लगाउने जस्ता अमर्यादीत क्रियाकलाप समेत मसाज सेन्टरमा हुने गरेको पाईएको छ । मदिरा सेवन गरेर आउने ग्राहकहरुलाई समेत प्रवेश गराउने र सेवा दिन बाध्य बनाउने काम मसाज सेन्टरहरुमा खुलमखुल्ला भैरहेको छ ।

आज भरतपुरमा आयोजना गरिएको सरोकारबालाहरु बिचको छलफल कार्यक्रममा श्रमिकहरुसँग गरिएको समस्या बिश्लेषण सार्वजनिक गर्दै यस्ता तथ्यहरु सार्वजनिक गरिएको हो । मसाज सेन्टरमा काम गर्ने श्रमिकहरुलाई बिहान १० बजे देखि बेलुका ९ बजेसम्म काम गर्ने समय तोकीएको भएता पनि उनिहरुलाई राति अवेरसम्म काम गर्न बाध्य पार्ने गरिएको छ ।

कतिपय श्रमिकहरुलाई मसाज सेन्टरले बन्दिको जस्तो व्यवहार गर्ने गरेको तथ्य समेत पाईएको श्रमिकहरुसँग गरिएको कुराकानीका क्रममा प्राप्त भएको छ । बाहिरी जिल्लाबाट आएका र भरतपुरमा मसाज सेन्टरमा काम गरिरहेका केहि श्रमिकहरुले आफु भरतपुरमा छु भन्ने समेत जानकारी नभएको पाईएको छ । उनीहरुलाई संचालकले खाने बस्ने व्यवस्था मसाज सेन्टरसँगै गर्ने गरेको र ग्राहकको माग बमोजिम २४ घण्टा नै सेवा दिन बाध्य बनाएको तथ्य सार्वजनिक गरिएको हो ।

श्रमिकहरुले मासिक रुपमा १ दिन समेत बिदा नपाउने, सम्झौता पत्र नपाउने, समयमा तलव नपाउने साथै सरकारले तोकेको न्युनतम तलव समेत नपाएको अवस्था रहेको छ ।

छलफलका क्रममा चितवनमा आन्तरिक रुपमा भैरहेको मानव बेचबिखन न्युनिकरणका लागि कार्यरत सस्था सामरी उत्थान सेवाले चितवनको भरतपुरमा मात्र १० बटा भन्दा धेरै मसाज सेन्टरहरु संचालनमा रहेको जानकारी गराएको थियो । जहाँ १ सय ३४ जना श्रमिक तथा संचालकहरु संलग्न रहेका छन् । श्रमिकहरु मध्ये पुरुषहरु संचालक र व्यवस्थापनको काममा मात्र उपस्थित रहेको पाईएको छ ।

मसाजका लागि सबै महिला श्रमिकहरुले मात्र सेवा दिईरहेका छन् । मसाज सेन्टरमा सेवा लिनका लागि अधिकाशं पुरुषहरु पुग्ने गरेको भएता पनि सेवा दिने श्रमिकहरु भने महिला मात्र रहेका छन् । बिशेष गरि दलित र जनजाति समुदायका महिलाहरु मसाज सेन्टरमा कार्यरत रहेको पाईएको छ ।

मसाज सेन्टरमा कार्यरत अधिकांश महिलाहरु रहरले भन्दा पनि रोजगारीका बिकल्पहरुको खोजीमा भौतारिदा मसाज सेन्टरमा पुग्ने गरेको पाईएको छ । तलव, सुबिधा र मर्यादीत कार्यस्थलको अभाव भएता पनि ग्राहकहरुवाट दैनिक प्राप्त गर्ने टिप्स रुपैयाले आफ्ना जिवीकोपार्जन भैरहेको र घर परिवारलाई समेत आर्थिक सहयोग गर्न सकेको भन्दै उनीहरु बैकल्पीक पेशामा सहभागी हुने इच्छा देखाउदैनन् ।

चितवन जिल्लाभर १८ बटा मसाज सेन्टर संचालनमा रहेको जानकारी भएता पनि केहि मसाज सेन्टर बिना दर्ता पनि संचालनमा रहेको अनुमान सरोकारवालाहरुको छ ।

आर्थिक लाभ लिने मनसायले संचालनहरुले मसाज सेन्रमा गैरकानुनी र अमर्यादित क्रियाकलाप संचालन गर्ने गरेको भएपनि कानुनी कारवाहीको पाटो भने निकै फितलो देखिन्छ । स्पष्ट कानुनी व्यवस्था र नियमनको अभावका कारण श्रमिकहरुले आफ्ना समस्याहरु खुलेर संचालन गर्दैनन् । साथै यस क्षेत्रमा कार्यरत व्यक्तिहरुप्रति समाजले हेर्ने दृष्टिकोण नकरात्मक भएका कारण समेत उनीहरुले आफुहरुलाई परेको समस्या खुलेर भन्न नसक्ने अवस्था रहेको छ ।

अधिंकाश श्रमिकहरु मौखिक सहमतिको आधारमा काम गरिरहेकाले उनीहरुले पेशागत सुरक्षाका लागि समेत आफुलाई भैरहेको समस्याका बिषयमा आवाज उठाउन सकिरहेका छैनन् । जसले गर्दा श्रमिकरुमा मानसिक तनाव, अनिन्द्रा र मदिरा सेवन जस्ता समस्याहरु समेत भएको पाईएको छ ।

बिकसीत शहरको रुपमा चर्चा कमाईरहेको भरतपुर महानगरपालिका भित्र खुल्लम खुल्ला रुपमा भैरहेको गैरकानुनी र अमर्यादित कामलाई नियमन गर्नका लागि सम्बन्धित गैर सरकारी संस्था, सरकारी निकाय र स्थानिय सरकारले संयुक्त रुपमा पहल गर्नुपर्ने देखिन्छ ।

मसाज सेन्टरमा भैरहेको गतिबिधिवारे प्रशासनलाई खासै जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनु भयो । आर्थिक गतिबिधि बढाउनका लागि रात्रिकालीन व्यवसायलाई संचालन गर्न समयसिमा खुकुलो गर्ने बिषय साथै यस्ता व्यवसायवाट हुने ध्वनी प्रदुषण कम गर्नका लागि साउण्ड पुफ्र कोठाहरु बनाउने बिषयमा भने प्रशासनले छलफल गरिरहेको उहाँले बताउनु भयो ।

भरतपुर महानगपालिका कार्यपालिका सदस्य बिष्णु भुजेलले यस्ता व्यवसायलाई मर्यादित बनाउनका लागि प्रहरी, प्रशासनले सक्रियता देखाए नियमन संभव भएको बताउनु भयो । केहि समय अगाडि चितवनमा संचालनमा रहेका कन्सल्टेसी नियमनको उदाहरण दिदै भुजेलले प्रशासनले इच्छा शक्ति देखाएमा नियमन संंभव भएका्े बताउनु भयो । आवश्यक रोजगारी सृजना, सचेतना अभिवृद्धि लगायतका बिषयमा नगरपालिकाले समेत पहल अगाडि वढाउने उहाँले बताउनु भयो ।

छलफलमा सामरी उत्थान सेवा, माईति नेपाल, हाम्रो भरोसा नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान, चितवन मानव सेवा आश्रम, आशिष सामाजिक सेवा नेपाल, मञ्जुश्री असहाय संरक्षण केन्द्र, लगायत सरोकारवाला संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij