Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

इच्छाकामना ठूलो पञ्चमी मेलामा पाँच हजार बढी भक्तजन

इच्छाकामना ठूलो पञ्चमी मेलामा पाँच हजार बढी भक्तजन

इच्छाकामना :   चितवनको इच्छाकामना ५ स्थित प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरमा आइतबार र  सोमबार पाँच हजार जना भन्दा बढी भक्तजनहरुले दर्शन गरेका छन् । ठूलो पञ्चमी मेलाको अवसरमा हरेक बर्ष  लाग्ने मेलाको दिन ठूलो संख्यामा भक्तजनहरु  दर्शन तथा मेला अवलोकन गर्न आएका हुन् ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष यान बहादुर गुरुङका अनुसार  आइतबार र सोमबार दुई दिन मेला लागेका थिए । उहाँले भन्नुभयो, “आइतबार साँझदेखि सुरु भएको पञ्चमी मेला सोमबार दिनभर लागेका थिए, पाँच  हजार भन्दा बढी  भक्तजनहरुले  मन्दिर दर्शन गरेका छन् ।”उहाँका अनुसार इच्छाकामना मन्दिरमा हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बली चढाइने परम्परा रहेको छ । मेलाको अवसरमा इच्छाकामना गाउँपालिकाले सोमबार सार्वजनिक विदासमेत दिएका थिए ।  मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत भएका थिए ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने तथा सन्तान नहुनेहरुका  लागि सन्तान प्राप्ती हुने धार्मिक विश्वास छ । मनकामना देवीको सात दिदी बहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ ।इच्छाकामना मन्दिर धार्मिक पर्यटकीयस्थलको सम्भावना बोकेको पर्यटकीयस्थल हो ।समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । इच्छाकामनाको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गीन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली श्रृङ्खला मनास्लु, गणेश र माछापुच्छ्रेसम्म पनि देख्न सकिन्छ ।

फिस्लिङ–शक्तिखोर सडक र मुग्लिन–तामिन सडक प्रयोग गरेर पर्यटकहरू मन्दिर पुग्ने गरेका छन् । यहाँ सार्वजनिक विदा र शनिबारको दिन मन्दिर दर्शन गर्न र पिक्निक खान आउने पर्यटकहरुको घुइँचो लाग्ने गर्छन् । पछिल्लो केही बर्षयता भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij