Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

काठमाडौँ  : ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेक जाँचका क्रममा लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने पाँच जना चालकलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ का ३१ वर्षीय सोनामसिंह घिसिङ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँका ३५ वर्षीय सुमन रुपाखेती, रौतहटको बौधिमाई नगरपालिका–२ का २४ वर्षीय बिकी ठाकुर हजाम, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–१ का २४ वर्षीय अनिल मोक्तान र सुनसरीको हरिनगर गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार कुशुहवालाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘बढीभन्दा बढी सवारी चालकलाई कारबाही गरेर हामी सक्षम छौँ भन्ने वा अब्बल बन्ने कोसिस गर्दैनौ । सडक नियमसम्बन्धी सचेतना अभिवृद्धि गरी राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने वातावरणको सृजना गर्नु, सडकमा हुने दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक बनाउनु हाम्रो लक्ष्य हो ।’

आफू सवार सवारीसाधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल कक्षको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रवक्ता सुवेदीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट