बनेपा (काभ्रे) : सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छाप्न सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि नयाँ लाइसेन्स छपाइ कार्य आरम्भ गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बनेपास्थित मुद्रण केन्द्रको प्रिन्टिङ मेसिनमा बटन थिचेर छपाइको औपचारिक शुभारम्भ गरे।मन्त्री खरेलले वर्षौंदेखि थन्किएका मेसिन र पार्टपुर्जाको धुलो पन्छाएर अत्यावश्यक प्रबन्ध मिलाई छपाइ सुरु गरिएको जानकारी दिए।
उनले भने, “वर्षौंदेखि थन्किएका मेसिनहरूलाई पुनः प्रयोगमा ल्याएका छौं। धुलो टकटक्याएर छपाइ सुरु गरेका हौं।” उनका अनुसार अब केन्द्रबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, हुलाक टिकट, भिसा स्टिकर लगायतका सामग्री पनि छाप्न सकिनेछ।सरकारी प्रेसबाटै छपाइ सुरु गर्नु सुरक्षा दृष्टिले पनि महत्त्वपूर्ण भएको उनको भनाइ छ।

खरेलले थपे, “२८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ। विदेशी कम्पनीलाई ठेक्का दिएर रकम बाहिर पठाउने परिपाटी अन्त्य गर्दै आफ्नै देशमा छपाइ सुरु गरेर जनतालाई सुशासनको अनुभूति दिन चाहेका हौं।”
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार कानुनी र प्राविधिक जटिलता समाधान गर्दै पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता गरिएको छ। सुरुमा दैनिक ५०० प्रति छापिने र क्रमशः उत्पादन मात्रा बढाइने बताइएको छ।
हालसम्म केन्द्रमा करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ। निर्माणाधीन भवन तयार भएपछि आगामी छ महिनाभित्र कागजी छपाइ पनि सुरु हुने योजना रहेको निर्देशक ढुङ्गानाले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij