काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ʻविप्लवʼले कम्युनिस्ट हरूलाई नयाँ ढंगले एकीकृत गर्ने प्रयास रहेको बताएका छन्।
शुक्रबार दल दर्ताका लागि सनाखत गराउन निर्वाचन आयोग पुगेका विप्लवले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले एकताको बहस नेपालमा जारी रहेको भन्दै कम्युनिस्टहरूलाई नयाँ केन्द्रमा एकीकृत गर्ने प्रयास रहेको बताएका हुन्। उनले आफूहरूको पार्टी नयाँ भएको भन्दै जनताको सल्लाहमै निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्न लागिएको जानकारी दिए।
नेकपाले अहिलेसम्म देशलाई क्षति हुने कुनै काम नगरेको र गर्न नदिएको उल्लेख गर्दै विप्लवले आगामी दिनमा जनताको सुझाव अनुसार देशको हितमा काम गर्ने धारणा राखे। नयाँ पुस्ताले चाहेको रूपान्तरणका लागि संघर्षरत रहने उनको भनाइ छ।
विप्लवले अहिले देशमा निर्वाचनको वातावरण बन्न नसकेपनि एक दिन निर्वाचन हुनै पर्ने जिकिर गरे।
केहिदिन अघि कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेको थियो। दल दर्ताका लागि निवेदन परेपछि आयोगले शुक्रबार नेकपाका नेताहरूलाई सनाखतका लागि बोलाएको हो।
विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij