चितवन : अखिल क्रान्तिकारी चितवनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले तोकेको नयाँ शुल्क संरचना र रामपुर क्याम्पसमा रोकिएको भर्ना प्रक्रियाविरुद्ध कडा आपत्ति जनाएको छ।
संस्थाले २०८२ सालको प्रवेश वर्षका लागि सार्वजनिक गरेको नयाँ शुल्क संरचनाअनुसार बीएस्सी एग्रीकल्चर (IDF र Annex) तथा बीभीएस्सी एण्ड एएच (BVSc&AH) कार्यक्रमका शुल्कमा १६ देखि ५० प्रतिशतसम्म वृद्धि गरिएको छ। उक्त निर्णयप्रति संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
संगठनका अध्यक्ष शुशिल कार्की अब्दुलद्वारा जारी विज्ञप्तिमा भनिएको छ — “शिक्षा अधिकार हो, व्यापार होइन भन्ने हाम्रो मूल सिद्धान्त विपरीत मनोमानी ढंगले गरिएको शुल्कवृद्धि अन्यायपूर्ण र गैरजिम्मेवार कदम हो।”
उनका अनुसार, शिक्षण प्रणाली, प्रयोगशाला सुविधा, अनुसन्धान सहयोग तथा प्राविधिक स्रोतमा पर्याप्त सुधार नभएको अवस्थामा शुल्कवृद्धि विद्यार्थीमाथिको अन्याय हो।
“विश्वविद्यालय जिम्मेवार नबन्दा हजारौं नेपाली विद्यार्थी कृषि तथा पशु विज्ञान शिक्षा लिनबाट वञ्चित हुने खतरा बढेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
संगठनले रामपुर कृषि क्याम्पसमा रोकिएको नयाँ विद्यार्थी भर्ना प्रक्रिया तत्काल सुरु गर्न र शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ।
त्यस्तो माग अवहेलना भएमा विद्यार्थी अधिकार र न्यायका लागि चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत संगठनले दिएको छ।
विज्ञप्तिमा भनिएको छ — “हाम्रो माग सम्बोधन नगरे आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय प्रशासनले लिनुपर्नेछ।”