Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

उपभोक्ताको मन जित्दै रत्ननगरको रिजाल एग्रो : अचार र ससको माग बढ्दो

उपभोक्ताको मन जित्दै रत्ननगरको रिजाल एग्रो : अचार र ससको माग बढ्दो

रत्ननगर : स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय अचार र सस उत्पादन गर्दै आएको रिजाल एग्रोले बजारमा आफ्नो छाप छोड्न सफल भएको छ। पूर्वी चितवनको रत्ननगर वडा नम्बर ३ मा रहेको यो एग्रोका उत्पादनहरू उपभोक्तामाझ लोकप्रिय हुँदै गएपछि मागमा उल्लेखनीय वृद्धि भएको छ। एग्रोका संचालक सौरभ रिजालका अनुसार, विशेषगरी अकबरे खुर्सानी, आँप र मिक्स अचारको माग धेरै बढेको छ, जसले कम्पनीको व्यवसायलाई नयाँ उचाइ दिइरहेको छ।

२०७८ फागुनदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रिजाल एग्रोले १५ प्रकारका विभिन्न स्वादका अचार उत्पादन गर्दै आएको छ। अकबरे, आँप, लप्सी लगायतका स्वादिष्ट अचारहरूका अलावा सस, भेनिगर, सोया सस र मायोनिज सस पनि उत्पादन गर्ने यो एग्रोले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेको छ। "हाम्रा उत्पादनहरूले उपभोक्ताको मन जित्न सफल भएका छन्। विशेष गरी अकबरे खुर्सानी, आँप र मिक्स अचारको माग अत्यधिक छ," संचालक रिजालले भने।

एग्रोले स्थानीय किसानहरूको उत्पादनलाई प्राथमिकता दिँदै अचार र सस उत्पादन गर्दै आएको छ। रिजालका अनुसार, चितवनका किसानहरूबाट टमाटर लगायतका कच्चा पदार्थ खरिद गरिरहेको र चितवनमा उपलब्ध नभएका कच्चा पदार्थ मात्र अन्य जिल्लाबाट ल्याइरहेका उनले बताए । जसमा इलामबाट अकबरे खुर्सानी, रोल्पाबाट लसुन, सिरहा, लहान र सप्तरीबाट आँप, पनौतीबाट लप्सी तथा तनहुँबाट तामा जस्ता उत्पादनहरू समावेश छन्। "हामी स्थानीय किसानहरूलाई सशक्त बनाउन चाहन्छौं। यसले उनीहरूको आय वृद्धिमा पनि योगदान पुर्‍याउँछ," रिजालले थपे।

बजार विस्तारमा रिजाल एग्रोले उल्लेखनीय सफलता हासिल गरेको छ। यसका उत्पादनहरू विर्तामोड, इलाम, मोरङ, सुनसरी, जनकपुर, बर्दिबास, उदयपुर, वीरगञ्ज, सिमरा, हेटौँडा, चितवन, नवलपरासी, पोखरा, काठमाडौँ, रुकुम, सुर्खेत, चरिकोट, डडेल्धुरा, महेन्द्रनगर, भाटभटेनी, रत्ननगरको सेभ सुपरमार्केट तथा स्थानीय पसलहरूमा उपलब्ध छन्। यसबाहेक, दराजजस्ता अनलाइन प्लेटफर्महरूबाट पनि उत्पादनहरू बिक्री भइरहेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरेको यो एग्रोले हरेक वर्ष ५० प्रतिशतभन्दा बढी कारोबार वृद्धि गरिरहेको छ । उत्पादनहरू २०० ग्रामदेखि ५ किलोग्रामसम्मका प्याकेजिङमा उपलब्ध छन्, जसको खुद्रा मूल्य ५० रुपैयाँदेखि १,२०० रुपैयाँसम्म पर्छ। एग्रोले विशेषगरी होटल, रेस्टुरेन्ट तथा विवाह र व्रतबन्धमा क्याटरिङ गर्नेहरूका लागि लक्षित गरी ५ किलोग्रामसम्मको प्याकेजिङमा उत्पादन गरिरहेको छ। होटल तथा रेस्टुरेन्टलाई चाहिने सस, भिनेगर, सोया सस, मायोनिज ससजस्ता उत्पादनहरूको माग बढ्दै गएको र मागबमोजिम गुणस्तरीय उत्पादन गरिरहेको रिजालले बताए। एग्रोको उत्पादन प्रयोग गर्ने होटल, रेस्टुरेन्ट तथा उपभोक्ताहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले थप हौसला प्रदान गरेको रिजालले उल्लेख गरे ।

रोजगारी सृजनामा पनि योगदान पुर्‍याउँदै आएको रिजाल एग्रोले स्थानीय स्तरमा १० जनाभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै यो एग्रोले हङकङ, अमेरिका र अष्ट्रेलिया जस्ता देशहरूमा उत्पादन निर्यात गर्दै आएको छ। "आगामी दिनमा अन्य देशहरूमा पनि निर्यात गर्न पहल गरिरहेका छौं। यसले नेपाली उत्पादनलाई विश्वव्यापी बनाउन मद्दत गर्नेछ," संचालक रिजालले बताए।

स्थानीय स्रोतहरूको उपयोग गर्दै गुणस्तरीय उत्पादनमा जोड दिने रिजाल एग्रोको यो सफलताले चितवनको कृषि र उद्योग क्षेत्रलाई नयाँ दिशा दिइरहेको छ। उपभोक्ताहरूले यसका उत्पादनहरूलाई स्वादिष्ट र स्वस्थ विकल्पका रूपमा रुचाइरहेका छन्, जसले कम्पनीको भविष्य उज्ज्वल देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij