Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

वागीश्वरी आध्यात्मिक परिषद्‌मा सामूहिक गौपूजन तथा अखण्ड हरिनाम कीर्तन सुरु

वागीश्वरी आध्यात्मिक परिषद्‌मा सामूहिक गौपूजन तथा अखण्ड हरिनाम कीर्तन सुरु

चितवन : तिहारको अवसरमा वागीश्वरी आध्यात्मिक परिषद्‌, योगी नरहरिनाथ आश्रममा आजदेखि सामूहिक गौपूजन तथा हवनात्मक अखण्ड हरिनाम कीर्तन सुरु भएको छ। लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षझैं यस वर्ष पनि परिषद्को आयोजनामा गौपूजन सुरु गरिएको अध्यक्ष अशोक पोखरेलले जानकारी दिएका छन्।परिषद्का अनुसार गौ संरक्षण केन्द्रमा कार्तिक ५ गतेसम्म गौपूजन र हरिनाम कीर्तन निरन्तर चल्नेछ। कार्यक्रममा स्थानीय भक्तजन, सनातन धर्मावलम्बी, साधु–सन्त र श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

धर्मशास्त्रअनुसार गाईमाता वात्सल्यकी प्रतिमूर्ति, विना मूल्यको औषधालय, रहस्यमयी ज्ञानकी खानी र ३३ कोटी देवताहरूको वासस्थान मानिन्छ। गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूज्ने प्रचलन रहँदै आएको छ।

वागीश्वरीमा २०६३ सालदेखि सामूहिक गौपूजनको परम्परा सुरु भएको हो। यहाँ वैदिक विधिबाट वैदिक गाईहरूको पूजा गरिन्छ। गौपूजनसँगै गोवर्द्धन पर्वत निर्माण गरी पूजा गर्ने प्रचलन पनि कायम छ।

पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा अवस्थित वागीश्वरीमा हाल दुई सयभन्दा बढी स्थानीय जातका गाईहरू संरक्षण गरिएको परिषद्को भनाइ छ। अध्यक्ष पोख्रेलका अनुसार योगी नरहरिनाथले २०४३ सालमा माडीबाट सातवटा गाई लिएर “कोटी होम” सुरु गरेका थिए, जसको सङ्ख्या बढ्दै अहिले दुई सय पुगेको छ।

गाई र धर्मसंस्कृतिको संरक्षणका लागि स्थानीय दाताहरूको सहयोगमा सञ्चालन भइरहेको यो परिषद् अहिले चितवनको प्रमुख धार्मिक केन्द्रका रूपमा परिचित बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij