चितवन : गाईघाटमा सवारी दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घाईघाटमा आज बिहान ७ : १५ बजे सात सवारीसाधन एकअर्कासँग ठोक्किएका थिए ।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए। त्यस बसको पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र.०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग २ ख १६२६ नम्बरको बस, त्यसपछाडिको ना ३ च ३२५६ नम्बरको बलेरो र बि ए बि ८४७० नम्बरको कार ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेशनल सिटी अस्पतालमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, जनता केयर अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। अहिले नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ।