Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेशमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश

मधेशमा काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश

काठमाडौँ : मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको छ।

नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीबीच बुधवार काँग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सहमतिअनुरूप प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो।

काँग्रेस संसदीय दलका नेता कृष्ण यादव, एमाले संसदीय दलका नेता सरोज यादव र जनमत पार्टीको संसदीय दलका नेताको नेतृत्वमा पुगेको प्रदेशसभा सदस्यहरूको टोलीले प्रदेश प्रमुख सुमित्रा सुवेदी प्रदेश बाहिर रहेकाले प्रदेश प्रमुखको कार्यालयमा पुगेर सरकार गठनका लागि दाबी पेश गरेको हो।

बहुमतका मुख्यमन्त्री सतीशकुमार सिंहको सरकारलाई दिएको समर्थन नेपाली काँग्रेस र नेकपा एमालेले फिर्ता लिएपछि आफूहरूले तदनुरूप नयाँ सरकार गठनका लागि दाबी पेश गरेको काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए।

जेनजी आन्दोलनको क्रममा मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिइसकेको अवस्थामा समस्या समाधान गर्न समर्थन फिर्ता लिएर सरकार गठनको प्रक्रियामा अघि बढेको एमाले संसदीय दलका नेता सरोज यादवले बताए।

केही अवधिका लागि जनमतले सरकारको नेतृत्व गर्ने र त्यसपछि सरकारको नेतृत्वका लागि काँग्रेसलाई दिने सहमति भए पनि मुख्यमन्त्रीले सो सहमति पालन गर्न अग्रसर नदेखिएपछि आफूहरू नयाँ शिराबाट सरकार गठनतर्फ लागेको जनमत पार्टीको संसदीय दलका नेता महेश यादवले बताए।

काँग्रेसको नेतृत्वमा सरकार गठनका लागि १०७ सदस्यीय प्रदेशसभामा काँग्रेस, एमाले र जनमत पार्टीका ५८ प्रदेशसभा सदस्यहरूको समर्थनमा दाबी पेश गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट