चितवन : नेपाली चलचित्र ‘मोहर’ को प्रदर्शनको ५१औं दिनको अवसरमा सौराहामा भव्य रूपमा उत्सव मनाइएको छ।कार्यक्रममा चलचित्रका प्रमुख नायक पल शाहको उपस्थितिमा विशेष आकर्षण देखिएको थियो।पर्यटकीय नगरी सौराहास्थित होटल पार्कसाइडमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी शिरलाल परियारले हात्ती र केराको घारीसहित परम्परागत शैलीमा नायक पल शाहलाई स्वागत गरेका हुन्। उनले पल शाहलाई फूलमाला, अविर र दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित दर्शक र शुभेच्छुकहरूमा उत्साहजनक उपस्थिति देखिएको थियो। पल शाहले ‘मोहर’ चलचित्रले पाएको माया र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना लिएर आउने प्रतिबद्धता जनाए।‘मोहर’ चलचित्रले नेपाली समाजमा बलिउडको प्रभाव, सांगीतिक संस्कृतिको महत्त्व र युवापुस्ताको जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्दै आलोचक र दर्शक दुवैको मन जितेको छ। चलचित्रले देशभर सकारात्मक प्रतिक्रिया पाइरहेका बेला सौराहामा गरिएको यो कार्यक्रमले चलचित्रको सफलताको उत्सव झनै विशेष बनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij