चितवन : हालै सम्पन्न आन्दोलनका क्रममा घाइते र निर्दोष रूपमा संलग्न युवाहरूको न्याय, उपचार र सुरक्षाको माग गर्दै सचेत युवा र आन्दोलनमा घाइते भएका युवाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
उनीहरूले आन्दोलनका क्रममा कैयौं युवाले सहादत प्राप्त गरेको र धेरैजना गम्भीर रूपमा घाइते भएको स्मरण गर्दै वीर आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, घाइतेहरूको उपचार, पुनर्वास र क्षतिपूर्ति तत्काल सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
ज्ञापनपत्रमा आन्दोलनकै नाममा निर्दोष सहभागी युवाहरूलाई मानसिक तनाव, सामाजिक सञ्जालमार्फत हुने प्रताडना र धम्कीले समस्यामा पारिरहेको भन्दै यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरिएको छ। युवाहरू प्रायः शान्तिपूर्ण आन्दोलनमा संलग्न भए पनि केही घुसपैठ गर्ने व्यक्तिका कारण सम्पूर्ण युवामाथि दोषारोपण हुनु अन्यायपूर्ण भएको उल्लेख गरिएको छ।
सचेत युवाहरूले राखेका प्रमुख मागहरू :
जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्वतन्त्र "पीडित समिति" गठन,
घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था,
निःशुल्क मनोवैज्ञानिक तथा मानसिक परामर्श उपलब्ध गराउने,
निर्दोष आन्दोलनकारी र विद्यार्थीलाई कुनै पनि हालतमा कानुनी कारबाही नगर्ने,
आन्दोलन दमन गर्ने र अन्यायपूर्ण आदेश दिने पदाधिकारीलाई कानुनी कारबाही गर्ने,
घाइते युवाहरूको उपचार र पुनर्वास प्रक्रियामा आधिकारिक प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका छन्।
युवाहरूले न्यायसंगत, शान्तिपूर्ण र दीर्घकालीन समाधानको अपेक्षा गर्दै तत्काल सकारात्मक कदम चाल्न प्रमुख जिल्ला अधिकारीसँग हार्दिक आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij