Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पहिरो नहट्दा मुग्लिन-नारायणगढ सडक तेस्रो दिन पनि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

पहिरो नहट्दा मुग्लिन-नारायणगढ सडक तेस्रो दिन पनि अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन : शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड तेस्रो दिन आज पनि सुचारु हुन सकेको छैन।इच्छाकामना गाउँपालिकास्थित तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने प्रयास सफल हुन नसकेको हो। सडक अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् भने सवारीसाधनको लामो लाइन लागेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोका कारण सडक अझै अवरुद्ध नै रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

शुक्रबार साँझदेखि खसेको पहिरो पन्छाउने काम शनिबार दिनभर जारी रहे पनि साँझ पुनः ठूलो पहिरो खसेपछि काम रोकिएको थियो।सडक डिभिजन कार्यालय चितवनका अनुसार, आज बिहानैदेखि पहिरो पन्छाउन मुग्लिनतर्फबाट तीन र नारायणगढबाट दुई गरी पाँचवटा मेसिन परिचालन गरिएको छ।

यात्रुलाई खाद्यान्न वितरण, वैकल्पिक मार्ग सुझाव

सडक अवरुद्ध हुँदा अलपत्र परेका करिब १ हजार ५०० यात्रुलाई शनिबार जिल्ला प्रशासन कार्यालय चितवनले खाद्यान्न (चिउरा, भूजा, चाउचाउ, बिस्कुट) तथा पानी वितरण गरेको थियो।प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको टोलीले यात्रुहरूलाई राहत सामग्री उपलब्ध गराएको हो।

सडक खुल्न अझै समय लाग्ने देखिएपछि प्राधिकरण र जिल्ला प्रशासन कार्यालयले नौबिसे-दामन-हेटौंडा तथा मुग्लिन-भिमाद-डेढगाउँ-गैँडाकोट (कालीगण्डकी करिडोर) सडक प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij