Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, आइतबार बिहान मात्र खुल्ने अनुमान

मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, आइतबार बिहान मात्र खुल्ने अनुमान

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिक शुक्रबार (असोज ३) बेलुका खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब ६:३० बजेदेखि सडक अवरुद्ध हुँदा हजारौँ सवारीसाधन अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिनतर्फबाट निरन्तर ढुंगा खसिरहेको हुँदा पहिरो पन्छाउने काममा कठिनाइ भएको छ। अँध्यारो भएपछि शनिबार बेलुका काम रोकिएको र आइतबार (असोज ५) बिहान झिसमिसे उज्यालो भएसँगै मात्र पुनः सुरु हुने जानकारी दिइएको छ।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार आइतबार बिहान साढे ५/६ बजेदेखि काम सुरु गर्ने तयारी छ। उनले भने, “पहिरो झर्ने क्रम रोकियो भने आइतबार बिहान १०/११ बजेसम्म सडक खुल्ने अनुमान गरेका छौँ।”

शनिबारको कामको क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको पनि डिभिजनले जनाएको छ। पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगाले झन्डै एक्साभेटर चालक दुर्घटनामा पर्न लागेपनि भाग्यवश ज्यान जोगिएको थियो।

सडकमा रोकिएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न र यात्रुलाई सावधानीपूर्वक सुरक्षित स्थान रोज्न आग्रह गरिएको छ। यात्रुमा परेको असुविधाप्रति सडक डिभिजनले क्षमाप्रार्थी पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij