मुग्लिन,४ असोज : नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलापुलमा खसेको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन्। लामो समयदेखि बाटोमा रोकिएका यात्रुहरूलाई खानेपानी अभावमा असहज बनेपछि चितवनका युवा व्यवसायी तथा समाजसेवी चन्दन अग्रवालले खाजा र पानी वितरण गरेर राहत पु¥याउनुभएको छ ।
शुक्रबार साँझदेखि पहिरोका कारण सडक बन्द भएपछि सयौँ सवारीसाधन दुवै तर्फ रोकिएका छन्। लामो प्रतीक्षामा रहेका यात्रुहरूमा असहज अवस्था सिर्जना भएको खबर पाएपछि अग्रवालले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग समन्वय गरी यात्रुहरूलाई सहयोग पु¥याउनुभएको हो । अग्रवालले यात्रुहरूलाई बिस्कुट, चाउचाउ, चिउरा, भूजा र मिनरल वाटर निःशुल्क वितरण गर्नुभएको हो ।
सहयोगका क्रममा आफैं खाजा र पानी वितरण गर्दै अग्रवालले भन्नुभयो, “लामो समयदेखि यात्रुहरू खाजा र खानाबाट बञ्चित भएको सुन्दा मनले मानेन । सिडियो साबसँगको समन्वयमा सानो सहयोग गर्न पाउँदा निकै हर्षित छु।”
खाजा र पानी पाएपछि यात्रुहरूको अनुहारमा खुशी झल्किएको थियो। यात्रुहरूले आपतको घडीमा युवाले देखाएको सामाजिक उत्तरदायित्व र प्रमुख जिल्ला अधिकारी अर्याल आफैं स्थलमै उपस्थित भएर सक्रिय भूमिका खेल्नु प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाली सेनाका कर्णेल दिनेश लामा, शसस्त्र प्रहरी उपरीक्षक धीरेन्द्र न्यौपाने र ट्राफिक प्रहरी निरीक्षक गायात्रीराज शर्मासमेतको उपस्थितिमा व्यवसायी अग्रवालले अलपत्र परेका यात्रुहरुलाई पानी र खाजा वितरण गर्नुभएको हो ।
विपतको समयमा स्थानीय र सबै तहका निकायहरुबाट सहयोगगको आवश्यक हुने बताउनुभयो । चितवनका प्रजिअ गणेश अर्यालले भन्नुभयो, “यस्तो विपत् व्यवस्थापनमा स्थानीय तहदेखि सुरक्षाकर्मी र समाजका सचेत युवाको साथ आवश्यक हुन्छ। अग्रवालले देखाएको पहल उदाहरणीय हो।” उहाँले करिब ३५ सय जनालाई पुग्ने खाजा र पानी उपलब्ध गराउनुभएको हो ।
यसैबीच यात्रुहरूबाट होटल तथा पसलहरूले खाना–खाजामा मनपरी मूल्य लिएको गुनासो आएपछि प्रशासनले मुग्लिन सडक खण्डका होटल र पसलमा अनुगमन गरेको छ। विशेष टोली परिचालन गरेर मूल्य नियन्त्रणमा कडाइ गर्ने तयारी रहेको प्रशासनले जनाएको छ।
नारायणगढ–मुग्लिन सडक देशकै प्रमुख व्यस्त सडकखण्ड भएकाले यहाँ अलपत्र हुने यात्रुको संख्या ठूलो हुन्छ। यसरी विपत्तिको समयमा समाजका युवाले देखाएको सहयोग र प्रशासनको सक्रियतालाई यात्रुहरूले राहतको अनुभूति गरेका छन्।
मुग्लिन तर्फ ३ वटा लोडर रहेपनि निरन्तर पहिरो खसीरहेकोले पहिरो पञ्छाउन समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । नारायणगढ तर्फबाट एक वटा लोडर र एक वटा स्काभेटरले भने निरन्तर पहिरो पञ्छाउने काम गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij