चितवन : शान्ति र लोकतन्त्रका लागि पेशागत संस्था (पापड) ले मुलुकमा उत्पन्न वर्तमान विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रिया र न्यायोचित संवादमार्फत मात्र सम्भव हुने भन्दै सबैलाई त्यसतर्फ गम्भीर बन्न आह्वान गरेको छ।
संविधान दिवसको अवसर पारेर पापड चितवनले शुक्रबार भरतपुरस्थित चितवन जिल्ला अदालत बार एशोसिएशनको कार्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पापडका संयोजक तथा चितवन जिल्ला अदालत बार एशोसिएशनकी अध्यक्ष फुलमाया रानाभाटले संविधानको रक्षा नै लोकतन्त्रको जीवन र अस्तित्वसँग सम्बन्धित भएको बताइन्। उनले भनिन्, “संविधान रहे मात्रै हामी रहनेछौं। यसको रक्षार्थ सबै एकजुट हुनुको विकल्प छैन।”
उनका अनुसार पापडको यो प्रदर्शन देशमा संविधानको महत्वबारे सचेतना जगाउन र लोकतान्त्रिक अभ्यासलाई अझ सबल बनाउन आयोजित गरिएको हो। कार्यक्रममा विभिन्न पेशाकर्मी, न्यायिक क्षेत्रसँग संलग्न व्यक्तिहरु, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय बासिन्दाको समेत सहभागिता रहेको थियो।