काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही अमेरिकी टेलिभिजन नेटवर्कहरूको लाइसेन्स ‘खोस्ने’ चेतावनी दिएका छन् ।
डिज्नीको स्वामित्वमा रहेको एबीसी नेटवर्कले बुधबार साँझ घोषणा हास्य कलाकारलाई ‘अनिश्चितकाल’ समयका लागि शोबाट हटाइएको घोषणा गरेको थियो । गत हप्ता कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको हत्या सम्बन्धी जिमी किमेलको टिप्पणीलाई लिएर विवाद भएको थियो । यही पृष्ठभूमिमा एबीसीले उक्त घोषणा गरेको थियो ।
सोमबार किमेलले चार्ली कर्कको हत्या मामलामा संलग्न अभियुक्त ‘मागा रिपब्लिकन’ रहेको टिप्पणी गरेका थिए । तर युटाहका अधिकारीहरूले उक्त आक्रमणकारी ‘वामपन्थी विचारधाराबाट प्रभावित’ भएको बताएका थिए । फेडरल कम्युनिकेशन्स कमिशन (एफसीसी) ले किमेलको टिप्पणीबारे कारबाही गर्ने चेतावनी दिएपछि एबीसीले ‘जिमी किमेल लाइभ’ को प्रसारण रोकिदिएको हो।
बीबीसीका अनुसार, ट्रम्पले बिहीबार बेलायतको भ्रमणबाट फर्कँदै गर्दा एयर फोर्स वन विमानमै पत्रकारहरूसँग कुरा गरेका थिए। त्यस क्रममा उनले भने, ‘मैले कतै पढेको थिएँ कि नेटवर्कहरूको ९७ प्रतिशत कभरेज मेरो विपक्षमा थियो। त्यसपछि पनि मैले चुनाव जितें, सजिलै जितेँ, सातै स्विङ स्टेट्स जितेँ।’
ट्रम्पले थपे, ‘तिनीहरूले मेरो बारे केवल नकारात्मक प्रचार दिन्छन्। मेरो मतलब, तिनीहरूसँग लाइसेन्स छ। मलाई लाग्छ, सायद उनीहरूको लाइसेन्स खोसिनुपर्ने हुन्छ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij