Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

लिपुलेक सहमतिबारे चीन र भारत भ्रमणमा परिणाममुखी वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव

लिपुलेक सहमतिबारे चीन र भारत भ्रमणमा परिणाममुखी वार्ता गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ : नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले औँल्याएका छन् ।नेपाल चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौँमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषण लगायतका क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउनसक्नुपर्ने बताएका हुन् ।

पूर्व परराष्ट्रमन्त्री एवं चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र पान्डे, इतिहासविद् डा सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले यस्तो धारणा राखेका हुन् ।

पूर्व परराष्ट्रमन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्णता कदम चाल्नुपर्ने बताए । आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकूल वातावरण बनाएर दुवै देशसँग परिणाममुखी वार्ता गर्न उनले सुझाव दिए । नेता पाण्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेको बताउँदै नेपालका विश्वविद्यालयलाई पनि त्यसै अनुसार अघि बढाउनुपर्ने धारणा राखे ।

प्रा डा सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राखे । दुई देशीय सम्बन्धको इतिहास कोट्याउँदै उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको बताए । विगतमा भारतसँग भन्दा नेपालको चीनसँग सम्बन्ध राम्रो रहेको उनको दाबी थियो । उनकाअनुसार, चीनलाई राष्ट्र सङ्घको सदस्य बन्न पनि नेपालको भूमिका थियो ।

क्लाउडका अध्यक्ष उप्रेतीले आर्थिक रूपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुग्नै लाग्दा नेपाल भने झिना मसिना कुरामा अल्झनु दुःखद भएको टिप्पणी गरे । उनले कूटनैतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुग्नु आफैमा गौरवमय भएको धारणा राख्दै चीनको उन्नतिको लाभ उठाउन ढिलो गर्न नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij