Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

गोरखामा जलविद्युत् आयोजना निर्माण हुँदै

गोरखामा जलविद्युत् आयोजना निर्माण हुँदै

सुलीकोट : गोरखा नगरपालिका –१३ स्थित सिमलगैरामा करिब दुई अर्ब १९ करोड ९५ लाख रुपियाँको लागतमा अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुनेभएको छ ।

मनकामना दरौंदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्धनमा दरौंदी नदीमा ९.८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिनुभयो ।

आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजी अन्तर्गतको लगानी रहने उहाँले बताउनुभयो । ‘सिमलगैरामा पावरहाउस रहनेगरी दरौदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो, उहाँले भन्नुभयो, ‘दरौंदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा ड्याम रहनेगरी आयोजना निर्माण हुनेछ ।’

गोरखा नगरपालिका वडा नम्बर १२, १३ र १४, सहिद लखन गाउँपालिकाका १, २ र ३ तथा पालुङटार नगरपालिकाको ९ नम्बर वडाका गरी आयोजनाले कुल चारसय ४० रोपनी क्षेत्रफल ओगट्नेछ ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एकसय २३ रोपनी, दुईसय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्नेछ ।

‘आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडक खण्डको पहुँच क्षेत्रमा रहनेछ, आयोजनाका इन्जिनियर अनिल नेपालले भन्नुभयो, ‘अर्ध जलाशययुक्त आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्ग किलाेमिटर रहनेछ ।’

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाहरुको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझाव सङ्कलन गरिसकेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश भएर मन्त्रालयबाट स्विकृति प्रदान भइसकेकाले विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर दशैं पछाडिबाट फिल्डमै काम अघि बढाउने कम्पनीका अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

विभागबाट पाउनुपर्ने सबै अनुमति पाइसकेकाले दशैं पछाडि तथा कात्तिक महिनाको १ गतेबाट आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्ष अर्थात् २०८५ वैशाखभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij