Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नक्कली मार्कसिट बनाएको आरोपमा रास्वपा नेता पक्राउ

नक्कली मार्कसिट बनाएको आरोपमा रास्वपा नेता पक्राउ

भैरहवा : रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ।चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

गत साउन ३० गते रूपन्देहीको बेलहियामा ठूलो परिमाणमा विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रसहित भारतीय युवक अभिषेक यादव पक्राउ परेका थिए। अनुसन्धानक्रममा कँडेलको समेत संलग्नता देखिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।यादवको साथबाट त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, भारतीय विश्वविद्यालयका सयौं नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्ट्याम्प बरामद भएको प्रहरीले जनाएको छ।

पूर्वशिक्षक कँडेल चितवनमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। त्यहीमार्फत उनले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नाममा विद्यार्थीलाई विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।कँडेल यसअघि पनि नक्कली प्रमाणपत्र प्रकरणकै कारण विद्यालय प्रधानाध्यापक पदका लागि अयोग्य ठहरिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij