भक्तपुर : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
आज नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।
‘खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,’ उनले भने, ‘खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक छ ।’
यसैगरी मन्त्री यादवले तराई–मधेशका विभिन्न स्थानहरूमा निर्माण भएका ओभरहेड ट्याङ्क योजनाहरू वितरण प्रणालीको अभावमा सञ्चालनमा आउन नसकेकाले यस्ता योजनाहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई रणनीतिक तथा प्राविधिक कदमहरू चाँडै चाल्न निर्देशन समेत दिए ।
जलवायु परिवर्तनका कारण तराई–मधेस सहित पहाडी र हिमाली क्षेत्रमा खानेपानीका मुहानहरु सुक्ने समस्या बढ्दो क्रममा रहेकाले यसका लागि मुहान संरक्षण र रिचार्जका कार्यक्रमहरुलाई थप प्राथमिकता दिएर काम आगाडि बढाउन मन्त्री यादवले आग्रह गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij