वासिङ्टन डीसी : अमेरिकाको क्यालिफोनिर्या राज्यको लेक ताहोएमा बस्ने एक बासिन्दामा प्लेगको सङ्क्रमण पूष्टि भएको छ । मंगलबार क्यालिफोनिर्याका स्वास्थ्य अधिकारीहरूले यो कुरा बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
साउथ लेक ताहोए क्षेत्रमा क्याम्पिङ गरिरहेको समयमा प्लेग सङ्क्रमित झिँगाले छोकेर ती व्यक्तिलाई प्लेग सरेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । बिरामीले घरमै स्वास्थ्य लाभ गरिरहेको अनि उनलाई अहिले स्वास्थ्यकर्मीको हेरचाहमा छाडिएको एल दोराडो काउन्टीका अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए ।
एल दोराडो काउन्टीको उच्च क्षेत्रसमेत क्यालिफोनिर्याको कयौं क्षेत्रमा अहिले पनि प्लेग प्राकृतिक रुपमा रहेको एल दोराडो काउन्टीका कायममुकायम जनस्वास्थ्य निर्देशक काइल फ्लिफ्लेटले बताए ।
आफू र आफ्नो घरपालुवा जनावर घरबाहिर भएको समयमा मानिसहरूले सावधानी अपनाउन जरुरी भएको पनि उनले बताए । खास गरेर जंगली मुसा पाइने ठाउँहरूमा बाहिर डुल्दा, हाइकिङका लागि जाँदा वा क्याम्पिङका लागि गएको समयमा विशेष सावधानी अपनाउन भनिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij