काठमाडौँ : पाँचथरको हेवा खोलामा भारत सरकारको सहयोगमा जडान गरिएको ७० मिटर लामो बेलिब्रिज उद्घाटन गरिएको छ । पुलको उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा गरे।
यसअघि बाढीका कारण पटक–पटक पक्की पुलसहित बेलिब्रिज बग्ने र भाँचिने समस्या आएपछि भारत सरकारको सहयोगमा नयाँ मोड्युल बेलिब्रिज जडान गरिएको हो। पुल निर्माण तथा जडान कार्य सङ्घीय सरकार मातहतको सडक डिभिजन इलाममार्फत सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा मन्त्री दाहालले बाढी, पहिरो र प्राकृतिक विपद्ले विकासका संरचनामा निरन्तर धक्का दिने गरेको उल्लेख गर्दै भत्किएका संरचना पुनः निर्माण गर्नु नै विकासको निरन्तरता भएको बताए ।उनले जेठ ३१ गते पुल जडान गर्ने क्रममा ज्यान गुमाएका तीन जना श्रमिकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन सरकारले प्रतिबद्धता जनाए ।
त्यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतका असल छिमेकी भएको उल्लेख गर्दै विपद्का बेला सहयोग गर्नु छिमेकी धर्म भएको बताए । उनले नेपाल सरकारको अनुरोधमा भारतले ५० करोड बराबरका १० वटा पुल उपलब्ध गराएको बताए । हेवा खोलाका लागि उपलब्ध गराइएको मोड्युल ब्रिज भारतबाट आएका २१ प्राविधिक र नेपालका प्राविधिकले संयुक्त रूपमा ११ दिन लगाएर जडान गरेका हुन्।
पुल जडान र संरचना निर्माण कार्य दोभान सुपर सौगात लाइट बिल्डर्सले तीन करोड ५० लाख रुपैयाँमा ठेक्का लिएको थियो।हेवा खोलाको पक्की पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो। त्यसपछि जडान गरिएको सो पुल असोज १२ गते पुनः बगाएको बगाएको थियो।
पछिल्लो पटक जेठ ३१ गते जडान कार्य सम्पन्न नहुँदै बेलिब्रिज भाँचिदा तीन श्रमिकको ज्यान गएको र तीन जना घाइते भएका थिए ।सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार बेलिब्रिज सञ्चालनमा आएपछि मेची राजमार्गमार्फत झापा–इलाम–पाँचथर हुँदै ताप्लेजुङसम्म सवारीसाधन र ढुवानी सहज हुने भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij