Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

मातृभाषाको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व: मुख्यमन्त्री बानियाँ

मातृभाषाको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व: मुख्यमन्त्री बानियाँ

मकवानपुर : ३१ औं ‘तामाङ प्रसारण दिवस’को अवसरमा तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा हेटौंडामा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ प्रमुख आतिथ्यतामा आइतबार साँझ कायृक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले धर्म वा जातका आधारमा राजनीति गर्न नहुने धारणा राख्नुभयो । लोकतान्त्रिक गणतन्त्रमा मातृभाषा संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताउँदै मुख्यमन्त्री बानियाँले तामाङ र नेवार भाषालाई प्रदेशसरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएर अग्राधिकार प्रदान गरेको उल्लेख गनुृभयो । भाषा, संस्कृति र परम्पराको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री बानियाँले तामाङ पत्रकार संघ बागमती प्रदेश समितिलाई व्यक्तिगत रूपमा दुई लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो । मुख्यमन्त्री बानियाँले अध्यक्ष ज्ञानेन्द्र तामाङलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा तामाङ भाषाको पत्रिका तामाङ डजाङ मासिकका प्रकाशक पत्रकार अर्जुन बहादुर घलान र पत्रकार भुवन घलानलाई नगदसहित सम्मान गरिएको थियो । दिवसकै अवसरमा “सरकारी कामकाजी भाषाका रूपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा सञ्चारमाध्यम तथा सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तान, वरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङका संघीय सदस्य लो तामाङ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो ।

वक्ताहरुले ‘सरकारी कामकाजको भाषा सम्बन्धी ऐन, २०८०’ प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह जिम्मेवार बन्नुपर्ने धारणा राखे । नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य लो तामाङले मातृभाषा केवल औपचारिक प्रयोगमा सीमित नभई दैनिकीमा लागू गर्नुपर्नेमा जोड दिँदै समुदायभित्रै तामाङ भाषा बोल्ने वक्ता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले स्थानीय सरकारहरू भौतिक विकासमा मात्र केन्द्रित हुँदा भाषा ऐन कार्यान्वयनमा कमी आएको स्वीकार गर्दै आगामी दिनमा प्रदेश तथा स्थानीय तहबीच समन्वयमा काम गर्न तयार रहेको बताउनुभयो । वरिष्ठ पत्रकार प्रताप विष्टले ऐन कार्यान्वयनमा तामाङ घेदुङ संघले पर्याप्त पहल नगरेको टिप्पणी गर्दै भाषा बलियो भए मात्र राष्ट्र बलियो हुने धारणा राख्नुभयो ।त्यस्तै, मन्त्रालयका सचिव सुवेदीले मन्त्रालयतर्फबाट भाषा ऐन कार्यान्वयनका काम भइरहेको दाबी गर्दै नियमावली तयार भइसकेको जानकारी दिनुभयो । उहाँले नेपाल तामाङ घेदुङ र नेवादयः दबूको सहकार्यमा सरकारी कार्यालयका कर्मचारीका लागि भाषा प्रशिक्षण प्याकेज बनाइएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij