Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

मुक्तिनाथ (मुस्ताङ) : वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, पाङ्लिङगाउँका ९१ वर्षीय ठकुरी नेवाङले सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै नवीकरण गर्नुभयो । बर्खाको समयमा वडा कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा वडाध्यक्ष कर्मघ्यचो गुरुङसहितको टोली घरदैलोमै गएपछि वृद्ध नेवाङ उत्साहित हुनुभयो ।

उहाँ जस्तै कागबेनीकी ९९ वर्षीय शेर साङ्मो गुरुङलाई पनि जनप्रतिनिधि र कर्मचारी घरदेलोमा पुगेर सेवा दिनुभयो । ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, अनुदान फाराम र नागरिकताको सिफारिससम्बन्धी सेवाहरू घरदैलोमै पुगेर उपलब्ध गराउने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

वडाध्यक्ष गुरुङले भन्नुभयो, “गाउँमै पुगेर सेवा दिँदा वृद्धवृद्धालाई स्थानीय सरकारको अनुभूति हुँदो रहेछ । उहाँहरू वडासम्म आउँदा हुने खर्च र समयको बचत पनि हुन्छ ।” सो वडाभित्र ९८ जना सामाजिक सुरक्षा भत्ताका लाभग्राही हुनुहुन्छ ।

पोखरामा रहनुभएका १०१ वर्षीय पाङ्लिङका सम्देङ ठकुरीसहित करिब २० जना मुस्ताङ जिल्लाबाहिर भएकाले पोखरा र काठमाडौँमा समेत घरदैलोमै पुगेर सेवा दिने तयारी भइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ । जिल्लाबाहिरबाट गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने अवस्थामा जनप्रतिनिधि सेवा लिएर घरमै आउन थालेपछि सेवाग्राहीसमेत खुसी भएका छन् ।

मुस्ताङको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकाले गाउँपालिकामा नाम दर्ता भए पनि जिल्लाबाहिर बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीको राष्ट्रि«य परिचयपत्रको समस्या समाधानसँगै वडाध्यक्ष र वडा सचिवलाई परिचालन गरेर सेवा दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट