डोटी : डोटीसहित सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै छ । ओल्के संक्रान्ति सुदूरपश्चिमको पहाडी जिल्ला डोटीसहित प्रदेशभर धुमधामसँग मनाइने गरिन्छ ।साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । आज मीठो मसिनो खाना खाने चलन रहेको छ भने बाबियोको पिङ खेल्ने चलनसमेत रहेको छ ।कर्कलो, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तलाई बाँड्ने प्रचलन पनि यो पर्वमा छ । ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही ‘उपहार’ वा ‘कोसेली’लाई जनाउँछ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहेको जानकारहरु बताउँछन् ।विगतमा वर्षायाममा दादुरा, झाडापखाला, लुतो, हैँजा जस्ता रोग लाग्ने भएकाले त्यस्ता रोगबाट बाँचिएको खुशी साट्न ओल्के पर्व मनाउँदै आएको विश्वास गरिन्छ ।
साउन महिना सकिएर भाद्र महिना प्रारम्भ भएसँगै ओल्के पर्वको दिनदेखि सुदूरपश्चिमवासीको जनजीवनमा गौरा र तीज जस्ता पर्वको रमझम पनि सुरु हुने गरेको सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धामका मुख्य पुजारी सिद्धराज बिनाडी बताउनुहुन्छ ।
पौराणिक किंबदन्ती अनुसार यस पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई भगवान श्रीकृष्णले मारेपछि उहाँका साथीहरु (ग्वालाहरु) ले पुतनाको शव दहन गरेको मान्यता अनुसार बूढी पोल्ने गरिन्छ ।
ओल्के पर्वलाई विभिन्न किसिमले मनाइने गरिए पनि यसको मूल सन्देश आपसी मित्रता र भाइचाराको गाँठो बलियो पार्नु रहेको छ । ओल्के पर्बको अबसरमा आज सुदुरपश्चिम प्रदेश सरकारले बिदा दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij