काठमाडौँ : नेपाल पर्यटनको क्षेत्रमा एउटा नयाँ युगको सुरुवात भएको छ। गुगल म्याप्सले शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरिएको घोषणा गरेको हो।
यससँगै अब विश्वका जुनसुकै कुनामा बस्ने मानिसले नेपालका सुन्दर दृश्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई आफ्नो मोबाइल वा कम्प्युटरमार्फत नजिकबाट अनुभव गर्न सक्ने भएका छन्।
यस सेवाले प्रयोगकर्तालाई काठमाडौँका ऐतिहासिक सडक गल्ली र चहलपहलयुक्त बजारमा भर्चुअल रूपमा हिँड्ने, तराईको हरियाली र शान्त भू–दृश्य अवलोकन गर्ने, साथै हिमालहरूको मनोरम दृश्यले भरिएका घुमाउरा सडकमा डिजिटल यात्रा गर्ने अनौठो अवसर दिनेछ।
स्ट्रिट भ्यूको माध्यमबाट नेपालको वास्तुकला, प्राचीन दरबार र मन्दिर, पुराना बस्ती, बजारको संस्कृति र जीवनशैलीलाई विश्वसमक्ष अझ नजिक ल्याउन सकिने भएको छ।
गुगलले नेपालमा यस सेवाको सुरुवातसँगै यहाँको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ । अब नेपाललाई प्रत्यक्ष अनुभूत गर्न नसक्ने मानिसले पनि स्क्रिनमार्फत नेपालमा हिँडिरहेको जस्तो अनुभव गर्न सक्नेछन्।
नवीनतम दृश्यहरू हेर्नका लागि प्रयोगकर्ताले गुगल म्याप्स खोली ३६० डिग्री भ्यु वा पहेँलो स्ट्रिट भ्यू पेगम्यानमा क्लिक गरेपछि सहजै भर्चुअल यात्रामा सहभागी हुन सक्छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij