Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

‘बलिदान’को प्रतीक्षित टिजर सार्वजनिक

‘बलिदान’को प्रतीक्षित टिजर सार्वजनिक

नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा तयार भएको यस चलचित्रको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ।

यस वर्षको बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने यस चलचित्रको टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। यसैबिच पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन्।

अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्रबिन्दु बनेको छ, “जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरू तिमीलाई हेरेर हाँस्छन्, तिमी किन मौन बस्छौ? के यो धर्तीमा अब त्यस्तो युग पुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” कालीमाताको विशाल मूर्ति अगाडि बोलिएको यस संवादको पृष्ठभूमिमा जङ्गलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जहाँ निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा उपस्थित छन्।

अभिनेता समीर भट्टको प्रवेशसँगै टिजरको तानाबाना अझ गहिरो बन्छ। टिजरमा उनलाई ‘एक्सन किङ’को परिचय दिइएको छ र उनले पावरफुल एक्सनका दृश्यहरू प्रस्तुत गरेका छन्। उनको संवाद, “यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” सहितको शक्तिशाली दृश्यमा उनले प्रतिपक्षीलाई मुक्का प्रहार गरेको झलक टिजरको प्रमुख आकर्षण बनेको छ। टिजरको अन्त्यमा अन्य कलाकारहरूको छोटो झलकसहित समीरको ठुलो भालासँगको एक्सन दृश्य शीर्षकसँगै दर्साइएको छ।

टिजर सार्वजनिक गर्दै चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’ केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक रहेको बताए। उनले भने, “तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल चलचित्र होइन, यो न्यायको विस्फोट हो।”

यसअघि, अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको प्रि-टिजरले देशभक्तिपूर्ण संवाद र दमदार एक्सनका कारण नेपालसहित दर्जन बढी मुलुकमा युट्युब ट्रेन्डिङमा स्थान पाएको थियो। प्रचार अभियानलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माताले ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत देशैभर विशाल ब्यानरहरू टाँगिएका छन्।

‘आसुसेन फिल्म्स प्रा. लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन्।

https://youtu.be/I2YCQa55Apw

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट