Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

माडी: प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र सामुदायिक पर्यटनको समन्वय

माडी: प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र सामुदायिक पर्यटनको समन्वय

माडी : चितवनको माडी नगरपालिका क्षेत्र भित्र ,धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको अनुपम मिलन पाइन्छ। यसलाई देवभूमि र तपोभूमि भनेर समेत चिनिन्छ, यस क्षेत्र भित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थलहरू छन्। हरियाली, समथर भूभाग, पानीका स्रोतहरू, जैविक कृषि प्रणाली र मौलिक जीवनशैलीले भरिपूर्ण माडी अहिले सामुदायिक पर्यटनको नयाँ अभ्यासको केन्द्र बनिरहेको छ।

माडीमा पाइने पुरातात्विक अवशेषहरू, मठ-मन्दिर, देवस्थलहरू, थानहरू, प्राचीन स्थलहरू र सांस्कृतिक चिन्हहरूले यसलाई धार्मिक र ऐतिहासिक दृष्टिले समृद्ध बनाएको छ। माडीका केहि रमणीय स्थलहरूबाट समग्र माडीको सुन्दरता, समथर भूभाग र बस्तीहरूको अवलोकन गर्न सकिन्छ। यस्ता प्राकृतिक र सांस्कृतिक विरासतहरूले यहाँ आउने पाहुनालाई आत्मीयता र मौलिकतामा रमाउने अवसर प्रदान गर्छ।

माडीमा हाल ८ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन्, जहाँ थारु, मगर, ब्राह्मण, बोटे लगायतका विभिन्न समुदायले आफ्ना परम्परागत शैली अनुसार पाहुनालाई स्वागत गर्छन्। हरेक होमस्टेमा स्थानअनुसारको खानपान, नाचगान, संस्कार र बोलीचालीमार्फत पर्यटकलाई स्थानीय जीवनशैली बुझ्ने मौका दिइन्छ।

ब्राह्मण समुदायबाट संचालित माडी नगरपालिका–६, लक्ष्मीबासमा रहेको माडीभ्यु मध्यवर्ती सामुदायिक होमस्टे अध्यक्ष जितबहादुर चापागाईंको नेतृत्वमा २०७६ सालदेखि सञ्चालनमा आएको छ। अहिले ८ घरपरिवारको सहकार्यमा चलिरहेको यो होमस्टे पाहुनालाई बास मात्र होइन, गाउँको आत्मा स्पर्श गराउने अनुभव प्रदान गर्छ। यसले माडीको पर्यटन र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

अध्यक्ष चापागाईं, जो बागमती प्रदेश सामुदायिक होमस्टे महासङ्घका उपाध्यक्ष पनि हुन्, समुदायको सक्रियताबाट यो होमस्टे प्रदेश र राष्ट्रिय स्तरमा परिचित भएको छ। तथ्याङ्क अनुसार, एक महिनामा औसत ७० जना पाहुना एक घरमा आइ रहेको अध्यक्ष जित बहादुर चापागाईंले बताउनु भयो ।

सामुदायिक होमस्टेहरू केवल पर्यटन सेवा मात्र होइन; ती रोजगारी सिर्जना, महिला सशक्तीकरण, युवा संलग्नता, संस्कृति संरक्षण र आर्थिक सशक्तीकरणका माध्यम बनेका छन्। पाहुनालाई स्वागत गर्ने, खाना तयार पार्ने, स्थानीय परिकार खुवाउने, नाचगान गर्ने काममा गाउँका हरेक वर्गको सक्रियता देखिन्छ। माडीका होमस्टेहरूमा दैनिक रूपमा पिकनिक, अध्ययन भ्रमण, धार्मिक क्षेत्र अवलोकन र पूजा गर्न, गोष्ठी, हरियाली उपत्यका माडी क्षेत्र अवलोकन गर्न र विश्रामका लागि पाहुना आइरहन्छन्। जैविक कृषि प्रणाली, माछापालन र हरियालीले उनीहरूलाई यहाँको जीवनशैलीमा बाँधेर राख्छ।

अध्यक्ष चापागाईं भन्नुहुन्छ, “पर्सा जिल्लाको हाल बन्द रहेको छोटी भन्सार खुलाइएमा भारतबाट पनि ठूलो संख्यामा पर्यटक सहज रूपमा माडी प्रवेश गर्न सक्छन्, जसले यहाँको पर्यटन, व्यापार र उत्पादनमा उल्लेखनीय गति ल्याउनेछ।”

माडीमा निजी र सामुदायिक दुवै प्रयासबाट पर्यटन प्रवर्द्धन हुँदै गएको छ। यो क्षेत्र संस्कृति, प्रकृति र सामाजिक समन्वयको जिउँदो उदाहरण बनेको छ। यदि पूर्वाधार, प्रचारप्रसार, सरकारी सहकार्य र सीमा सहजतामा ध्यान दिइयो भने माडीको पर्यटनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उदाहरणीय पहिचान बनाउने सम्भावना अत्यन्त प्रबल छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट