Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

चितवन : यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएको परिक्षणमा यहाँ उत्पादित महमा पौष्टिक तत्त्व भरिपूर्ण भएको पाइएको हो । मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाइँका अनुसार नेपाल सरकारले बनाएको मापदण्डअनुसार चितवनमा उत्पादित महको गुणस्तर राम्रो भएको र पौष्टिक तत्वले भरिपूर्ण रहेको पाईएको हो ।

मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको गुणस्तर परीक्षणका लागि ११ वटा फार्मबाट नमूना सङ्कलन गरि पठाएको थियो । परीक्षणका क्रममा सबै नमूना गुणस्तरयुक्त पाइएको हो । उहाँले भन्नुभयो, “चितवनका ११ वटा फार्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जङ्गली स्रोतको मह परीक्षणका लागि नमूना पठाइएका थियौं, सबैमा हाइड्रोअक्सिमिथाइल फुरफुरल राम्रो पाइएको छ ।” यो परीक्षणपछि यहाँ उत्पादित महको प्रयोग ढुक्कका साथ गर्न सकिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार महमा पानीको आद्रता, फुक्टोज गुलकोज अनुपात, रिड्युसिङ सुगर, हाइड्रोअक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थ, शुक्रोजको मात्रा परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “परीक्षणको क्रममा हाइड्रोअक्सिमिथाइल फरफुरलको मात्र प्रतिकिलो १० देखि १५ एमजीसम्म रहेको पाइएको छ, प्रतिकिलो महमा ४० एमजीभन्दा माथि भएमा राम्रो मानिँदैन ।” प्रति किलो महमा ४० एमजीभन्दा माथि भएको महलाई प्रशोधन गरिएको तथा चर्को ताप दिइएको मानिन्छ । कतिपय उपभोक्तामा महको गुणस्तरीयताको विषयमा प्रश्न उठाउँदै भ्रम फैलाउन थालेपछि महको परीक्षण गरिएको अमगाइँले बताउनुभयो ।

परीक्षणका लागि कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका मौरीपालक किसानले उत्पादन गरेको महको नमूना पठाइएको थियो । नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार ५०० मौरीका गोला रहेका छन् । नेपालमा वार्षिक चार हजार मेट्रिकटन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा ४३० मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट