Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

माओवादी केन्द्र खैरहनीको मानविय पहल :दिप्सन बचाउन गरे एक लाख बढीको सहयोग

माओवादी केन्द्र खैरहनीको मानविय पहल :दिप्सन बचाउन गरे एक लाख बढीको सहयोग

चितवन : “हाम्रो सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ भने सहयोग किन नगर्ने ?” यस्तै मानवीय भावनाले ओतप्रोत हुँदै नेकपा (माओवादी केन्द्र) खैरहनी नगर कमिटीले क्यान्सर पीडित एक चार वर्षीय बालकको उपचारका लागि एक लाख एक हजार चार सय सोह्र रुपैयाँ (रु. १,०१,४१६) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–८ स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका–८ पर्सास्थित साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यालय सहयोगीको रूपमा कार्यरत लक्ष्मण दुवाडी र विनिता दुवाडीका चार वर्षीय छोरा दिप्सन दुवाडी रक्त क्यान्सर (ब्लड क्यान्सर) रोगबाट पीडित छन् । हाल भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत दिप्सनको आर्थिक अवस्थाले गम्भीर संकट निम्त्याएको छ ।उनीहरुको न्यून आर्थिक अवस्थालाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्र खैरहनी नगर कमिटीको सक्रिय पहलमा सहयोग रकम संकलन गरी हस्तान्तरण गरिएको हो ।

नगर अध्यक्ष ज्ञानबहादुर विसुराल यसो भन्नुहुन्छ ; “हामीले पार्टीको सामाजिक उत्तरदायित्वअनुसार एक पीडित परिवारलाई जीवन र मृत्युको दोसाँधबाट फर्काउने प्रयासस्वरूप यो सहयोग गरेका हौं । यो कुनै दया होइन, यो हाम्रो कर्तव्य हो । अझ धेरै नागरिक, संघसंस्था, र नेतृत्व तहबाट यस्ता पीडितका लागि सहयोग जुट्न जरुरी छ । सानो योगदानले पनि कोही एक बालकको जीवन र एउटा परिवारको भविष्य जोगिन सक्छ भन्ने सन्देश दिन हामी सबै लाग्नुपर्ने बेला यही हो ।”

सहयोग हस्तान्तरण कार्यक्रम माओवादी केन्द्रका नगर अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमाण्ड इन्चार्ज कृष्णराज न्यौपाने (लवली), नगर इन्चार्ज लक्ष्मी ढकाल (सृष्टि), नगर वरिष्ठ उपाध्यक्ष टीका दत्त अधिकारी, नगर कोषाध्यक्ष हेमनाथ अर्याल, प्रदेश कमिटी सचिवालय सदस्य रुद्र बहादुर खड्का लगायत नेताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा उपस्थित सबैले दिप्सनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै थप सहयोगका लागि सबैलाई हातेमालो गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट