Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिँदै

चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिँदै

भरतपुर : चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने भएको छ । परियार एकता समाज चितवनको अगुवाइमा भरतपुर महानगरपालिका–२२ पटिहानीमा परियार समुदायको नेपालकै पहिलो सङ्ग्रहालय बनाउन लागिएको हो ।

परियार समुदायको ज्ञान, सीप र क्षमता संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सङ्ग्रहालय निर्माण गर्न लागिएको परियार एकता समाज चितवनका अध्यक्ष सुरज परियारले जानकारी दिए। उनका अनुसार करिब रु दुई करोडको लागतमा सङ्ग्रहालय बनाउन लागिएको हो ।

अहिले भरतपुर महानगरपालिकाको सहयोगमा भवनको डिपीसीसम्मको काम सम्पन्न भएको छ । सभा हलसहित चार तलासम्मको भवन निर्माण गर्न लागिएको छ । “नयाँ पुस्तालाई आफ्नो परम्परागत पेसाबारे ज्ञान छैन”, उनले भने, “हाम्रो संस्कृतिको विषयमा अध्ययन गर्न मिल्ने गरी सङ्ग्रहालय बनाउन लागेका हौँ ।”

परियारको समुदायको दर्जी, सूचीकार, नगर्ची, ढोली, हुडकेलगायतका थर हुन्छन् । यो समुदायको मुख्य पेसा विवाह, जात्रा र पूजा जस्ता अवसरमा पञ्चेबाजा बजाएर कार्यक्रम आरम्भ गर्ने, सिलाइ र पोसाक बनाउने हो । आजभोलि परियार समुदायले अपनाउँदै आएको पेसा अन्य समुदायले अवलम्ब गर्न थालेको समाजका अगुवा शेरबहादुर परियारले बताए ।

“हामीले बाजा बजाउन, सिलाउन अन्य समुदायलाई सिकायौँ । तर हाम्रा छोराछोरी नातिनातिनाले सिकेनन्”, उनले भने, “अब संरक्षण गरिएन भने केही वर्षमा हाम्रो पेसाको इतिहाससमेत मेटिन सक्छ ।” उनले संस्कृति लोप हुन लागेकाले संरक्षणका लागि सङ्ग्रहालय बनाउन लागिएको बताए ।

सङ्ग्रहालय निर्माणका लागि भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराएको छ । यहाँबाट पञ्चेबाजा बजाउन सिकाउने र पुराना बाजाहरुको संरक्षणसमेत गरिने छ । परियार समुदायको पोसाकको संरक्षणसँगै विगतमा सिलाइकटाइ गर्दा प्रयोग गरिने सामग्रीको संरक्षणसमेत गरिने उनले जानकारी दिए ।

विगतमा जन्मदेखि मृत्युसम्म परियार समुदायले सिलाएको कपडा लगाउनेदेखि शुभ साइतका लागि बाजा बजाउने प्रचलन थियो । सङ्ग्रहालयले परियार समुदायको जातीय पहिचानसहित ज्ञान र सीपको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमानसमेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।

तीन वर्षमा निर्माण गरिसक्ने लक्ष्य राखेर थालिएको सङ्ग्रहालय निर्माणका लागि रु दुई करोडमध्ये हालसम्म भरतपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको छ भने बाँकी रकम जुटाउने क्रममा रहेको कोषाध्यक्ष डिल्लीबहादुर परियारले बताए ।रासस

“भरतपुर महानगरपालिका, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूको सहयोग जुटाएर भवन निर्माण गर्न लागेका हौँ”, डिल्लीबहादुरले भने, “सबैको सहयोग भएमा परियार समाजको संस्कृतिलाई अध्ययन केन्द्रको रूपमा विकास गर्दैछौँ ।” नेपालमा परियार समुदायको जनसङ्ख्या छ लाखको हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट