चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले मापदण्ड पूरा नगरी संचालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरुलाइ कारवाही प्रक्रिया अघि बढाएको छ ।प्रशासनले दर्ता भएका, आंशिक कागजात पुरा गरेका र दर्ता प्रक्रिया बिनै अवैध रुपमा संचालनमा रहेका कन्सलटेन्सीहरुको सूची प्रकाशन गर्दै कार्यवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएका शर्त र अनुमती बेगर शैक्षिक परामर्शका गतिविधि संचालन गर्दा अन्य कानुन (ठगी) मा समेत कार्वाही हुन सक्ने तर्फ सचेत गराएको उल्लेख छ ।
सूचनामा भनिएको छ-'पूरा गर्नु पर्ने मापदण्ड बमोजिमका कागजातहरु आंशिक रुपमा पेश गरेका कन्सलटेन्सीहरुले यहीँ असार २२ गते भित्र कार्यालय समयमा थप कागजात पेश नगरेमा कानुन बमोजिम कार्वाही हुने चेतावनी दिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले दर्ता बिना नै कन्सलटेन्सी संचालनमा रहेको र सेवाग्राही ठगिदै गएको उजुरी आएपछि कन्सलटेन्सीहरुको अनुगमन गर्न थालिएको बताए । उनले अवैध रुपमा संचालन रहेका र झुठो विवरण राखेर काम गर्ने कन्सलटेन्सीहरुलाइ कार्वाहीको दायरामा ल्याइने बताउदै भने- 'अवैध काम भइरहेको भन्दै धेरै कन्सलटेन्सीका विरुद्धमा उजुरी आउन थाले, गलत काम गर्नेहरु कानुनी दायरामा ल्याउन निगरानी बढाइराखेका छौं ।'
प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार जिल्ला भित्र ४६ वटा कन्सलटेन्सी दर्ता भएका छन् भने ५० वटाले आंशिक कागजात पुरा गरेका छन् । यस्तै १५ वटा भने बिना दर्ता संचालनमा रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij