भरतपुर : चितवनमा अवैध व्यवसाय नियन्त्रणमा स्थानीय प्रशासन र प्रहरीले सक्रियता देखाएका छन् । नेटवर्किङ विजनेसका नाममा ठगी गरेको आरोपमा प्रहरीले भरतपुर–९ वेणी चोकबाट सञ्चालक धनबहादुर खत्रीसहित १४ जनालाई पक्राउ गरेको छ । नेटवर्किङ व्यवसाय आफैँमा गैरकानुनी कार्य हो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले अवैधरुपमा सञ्चालित १५ वटा कन्सलटेन्सीलाई बन्द गर्न प्रहरीलाई पत्राचार गरेको छ ।
वेणी चोकस्थित ग्लोबल ओरियन्स नेपालले नेटवर्किङ विजनेसका नाममा ठगी गरेको भन्दै तीन जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । ४५ हजार रूपैयाँदेखि दुई लाख ६५ हजार रूपैयाँसम्म ठगी गरेको पीडितको गुनासो छ । पीडितको उजुरीपछि प्रहरी टोलीले मंगलबार ग्लोबल ओरियन्सको कार्यालयमा छापा मार्यो । प्रहरीले आवश्यक कागजपत्रसहित सात जनालाई पक्राउ गरेको हो । कार्यालयको नाम मंगलबार नै परिवर्तन गरी भिजिनरी युथ इन्टरप्रेनियर्स ट्रेनिङ इन्स्टिच्युट राखिएको पाइएको छ ।
रौतहटलगायत देशका विभिन्न जिल्लाबाट युवायुवतीहरुलाई राम्रो कमाई र सेवा सुविधा हुने प्रलोभन देखाएर ल्याउने गरिएको पीडितले बताएका छन् । ‘राम्रो कमाई हुन्छ । हप्ता–हप्तामा तलब आउँछ । बस्न खानको व्यवस्था छ । मोटरसाइकल र स्कुटर पनि कम्पनीले नै दिन्छ भनी प्रलोभन देखाएर युवायुवतीहरुलाई ल्याउने गरिएको रहेछ’, एक अनुसन्धान अधिकारीले भने, ‘यहाँ ल्याइसकेपछि ३० हजार भन्दामाथिको विभिन्न रोग निको पार्ने औषधि किनेर बिक्री गर्नुपर्छ भनिएछ । बिक्रीको आधारमा स्टार र डायमन्ड पाइन्छ । नौवटासम्म स्टार पाउने धेरै राम्रो कमाई गर्न सक्छ भनी ठगेको पीडितको गुनासो छ ।’
आफू ठगिएको थाहा पाएपछि कतिपय युवायुवतीहरु पैसाको आश मारेर घर फर्किएको पनि पाइएको छ । खान बस्नको व्यवस्था कम्पनीले नै गर्छ भनी ल्याइएका युवायुवतीहरु अहिले आफ्नै खर्चमा खाने बस्ने गरेका छन् । ‘फुड सप्लिमेन्ट बिक्री गरिसकेपछि यो फेमिली विजनेस हो । अरु जति धेरैलाई जोड्न सकिन्छ आफूलाई त्यतिधेरै कमाई हुन्छ भनि नेटवर्किङ विजनेस चलाएको’, पीडितले उजुरीमा भनेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार ठगीमा सङ्लग्नहरुले पीडितहरुलाई जागिरमा लगाइदिन्छु भनी ल्याएर उल्टै सामान बिक्री गराएको पाइएको छ । ‘पटक–पटक सामान किन्न लगाउने, आफैँ पनि प्रयोग गर्न लगाउने गरिएको रहेछ । पीडितहरुलाई जबरजस्ती नेटवर्किङ व्यवसायमा सङ्लग्न गराइएको रहेछ’, उनले भने । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले दर्ता प्रक्रिया पूरा गरी सञ्चालित शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्ने संस्थाहरुलाई सूचीकृत हुन आउन असार ३ गते आह्वान गरेको थियो । सञ्चालन अनुमति समेतका कागजातहरु अध्ययन गर्दा ४६ वटा कन्सलटेन्सीले मात्रै अनुमति प्राप्त गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले जानकारी दिए ।
५० वटा कन्सलटेन्सीले दर्ता प्रक्रियामा रहेको भन्दै कागजपत्र बुझाउन सकेनन् भने १५ वटा कन्सलटेन्सी अवैधरुपमा सञ्चालन भइरहेको पाइएको उनले बताए । अवैध रुपमा सञ्चालित कन्सलटेन्सीलाई बन्द गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको गौतमले जानकारी दिए । सञ्चालनका लागि निवेदन नै नदिएका कन्सलटेन्सीहरु बन्द गरिने उनले बताए ।
अवैधरुपमा सञ्चालित कन्सलटेन्सीहरुमा मेट्स एजुकेसन, एइसिसी ग्लोबल, गोरेटो चितवन, भिटो, टोकियो माचुरी, खुसी, गोल्डस्टोन, ड्रिम्स केयर, म्याजिक एजुकेसन, चितवन इन्टरनेसनल, अक्सफोर्ड एकेडेमिया, प्राउड एजुकेसन, शिम्बा जापानिज ल्याङ्ग्वेज, चितवन इन्फोसिस र सेन्टर एजुकेसन मिसन रहेका छन् । अवैधरुपमा सञ्चालित केही कन्सलटेन्सीले म्यानपावर कम्पनीले जसरी मान्छे विदेश पठाएको भनी उजुरी समेत परेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij