चितवन : चितवनमा आज बुधबार संयुक्त विरोध र्याली तथा खबरदारी सभा आयोजना हुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघ चितवन, चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर सुनचाँदी व्यवसायी संघ (नगर संघ) को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
सरकारले बजेटमार्फत सुन र सुनका गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा, जवाहरातलगायत बहुमूल्य वस्तुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको खारेजीको माग गर्दै संयुक्त संघहरूले यो आन्दोलन आयोजना गरेका हुन्। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले उक्त जानकारी दिनुभयो।
मंगलबार दियालोरोडस्थित नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको कार्यालयमा बसेको संयुक्त बैठकको निर्णयअनुसार विरोध र्याली आज बिहान ११ बजेदेखि बालकुमारी चोकबाट सुरु भई मिलनरोड, सहिदचोक, लायन्सचोक, विरेन्द्र क्याम्पस गेट हुँदै चौबिसकोटीमा पुगेर खबरदारी सभामा परिणत हुनेछ।
बैठकमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तृतीय उपाध्यक्ष प्रेम खाती, नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, स्वकीय प्रेस सल्लाहकार अमिर रामदाम, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष डा. यमबहादुर वि.क., चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका वरिष्ठ उपाध्यक्ष रामकृष्ण सुनार र रत्ननगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक सेन्चुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त निर्देशनअनुसार चितवनको आन्दोलनलाई थप सशक्त र व्यवस्थित बनाउन नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माको संयोजकत्वमा संयुक्त आन्दोलन परिचालन समिति गठन गरिएको छ। समितिको सह-संयोजकमा चितवन सुनचाँदी व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष विष्णु लकाई (सुनार) र रत्ननगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष दिपक सेन्चुरी रहनुभएको छ। त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका महासचिव गोपाल बहादुर वि.क. थापा सदस्य सचिव र तीनवटै संघका कार्यसमिति सदस्यहरू समितिमा समावेश छन्।संयुक्त आन्दोलन परिचालन समितिले विरोध र्याली र खबरदारी सभा सम्पन्न भएलगत्तै बैठक बसी आगामी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने संयोजक विश्वकर्माले बताउनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij