Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

चितवनले सुन्दैछ अग्रजका गजल

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार : चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो ।समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनको आयोजनामा असार २१ गते शनिबार भरतपुरस्थित चितवन माध्यमिक विद्यालयको सभाहलमा `अग्रजका गजल’ कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रमलाई सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ ।

यस कार्यक्रममार्फत चितवनमा बसेर दुई दशकअघिदेखि गजल सिर्जनामा जीवन अर्पिएका अग्रज स्रष्टाहरूलाई फेरि साहित्यिक यात्रातर्फ फर्काउने भावनात्मक प्रयत्न गरिँदैछ । आयोजकका अनुसार गजल सिर्जनामा कहिल्यै पनि नथाक्ने तर जीवनका परिस्थितिले केही समय मौन बस्नुपरेका अनुभवी गजलकारहरूलाई यो मञ्चमा सम्मानका साथ प्रस्तुत गरिनेछ, जसले चितवनको गजल साहित्यको सुरुवाती स्वरलाई फेरि सजीव तुल्याउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको मूल सन्देश भनेकै साहित्यको स्मृतिलाई वर्तमानमा झिकेर भविष्यसँग गाँस्ने हो । जसको माध्यम गजल बनेको छ भावना, चेतना र कलाको संयोजन स्वरूप ।गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास भन्छन् – `गजल केवल लयात्मक रचना होइन, यो समय, समाज र आत्माको अभिव्यक्ति हो । जुन पुस्ता–पुस्ताबीच साहित्यिक सेतु निर्माण गर्न सक्छ ।´ अनायासका अनुसार अग्रज स्रष्टाको अनुभूति, दृष्टिकोण र शिल्पलाई पुनः प्रस्तुत गर्नु भनेको आजको पुस्तामा मूल आत्माको पुनर्संयोजन गर्नु हो ।

संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटा भन्छन् – `कतिपय स्रष्टाहरूको आवाज हराएको जस्तो लाग्छ, तर त्यो हराएको होइन, केवल हामी सुन्न छाडेका हौँ । अग्रजका गजल भनेको ती स्वरहरूलाई फेरि सुन्ने संवेदनशीलता हो, जसले हामीलाई आफ्नै साहित्यिक आत्मासँग पुनर्मिलन गराउँछ ।´

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट