रत्ननगर : चितवन जिल्लाका दुई सामुदायिक विद्यालयको यस वर्षको एसईई परीक्षाको नतिजा शून्य आएको छ। शिक्षा विकास तथा समन्वय इकाई, भरतपुरका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा रहेको श्री राष्ट्रिय सेकेन्डरी स्कूल र राप्ती नगरपालिकामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय स्वामिटारका कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।
भरतपुरको श्री राष्ट्रिय सेकेन्डरी स्कूलका १३ जना र राप्तीको राष्ट्रिय माध्यमिक विद्यालयका ३३ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए। तर, दुवै विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भए।
यसैबिच, जिल्लाबाट ३७ जना विद्यार्थीले चार जिपिए ल्याएका छन् । शिक्षा विकास समन्वय इकाइका अनुसार चितवन जिल्लाको उत्तीर्ण प्रतिशत ७३.५ प्रतिशत रहेको छ । सामुदायिकतर्फ चार जिपिए ल्याउनेमा नारायणी नमुना मावि पहिलो भएको छ । यहाँबाट ७ जनाले चार जिपिए अंक ल्याएका छन् । प्राविधिकतर्फ ८४ जनासहित ७ हजार ८८७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
चितवनमा ३.६ देखि ४ जिपिए ल्याउनेहरु २ हजार ५५ जना छन् । ३.२ देखि ३.६ जिपिए ल्याउने २ हजार ३३८ जना रहेका इकाइले जनाएको छ । यस्तै, २.८ देखि ३.२ जिपिएसम्ममा २ हजार १९८ जना छन् । २.४ देखि २.८ सम्म १ हजार १७३ जना, २ देखि २.४ सम्म ८५ जना रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij