Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द

चितवन : कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।विगत लामो समयदेखि कैद सजाय भोगिरहेका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आएका थिए । उनले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बनेका छन् ।

कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने उनको भनाइ छ ।यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उनले बताए ।यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौं, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै गएको बताए। अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उनको भनाइ छ ।कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी बन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताए ।

दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उनको भनाइ छ ।कारागार कार्यालय चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएको कारागार कार्यालयले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट