Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

माधवपुरको दिग्दर्शन खानेपानी पुनः सुचारू

माधवपुरको दिग्दर्शन खानेपानी पुनः सुचारू

रत्ननगर :  रत्ननगरको वडा नं-१५, माधवपुरमा रहेको दिग्दर्शन खानेपानी पुनः सुचारू गरिएको छ । विसं २०६६ सालताका एकगाग्री पानी लिन जुटपानीको तीनधारे र चारधारेमा घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता झेलेका माधवपुरवासीको घरअगाडि पानीको धारा झारिदिने सो खानेपानी स्थगन भएको केही समयपश्चात पुनः सुचारू गरिएको हो ।

माधवपुरका १५२ घरधुरीले प्रयोग गर्दै आइरहेको सो खानेपानीले १९ वटा धारामार्फत सेवा प्रदान गर्दै आइरहेको थियो । पछिल्लो समय सो खानेपानीका अधिकांश उपभोक्ताले पिठुवा खानेपानी संस्थामार्फत सेवा लिइरहेका छन् । घरघरमा निजी धारा जडान भएपछि दिग्दर्शन खानेपानी संस्था उपेक्षामा परेको थियो ।

उपभोक्ता नै निष्कृय बनेपछि सञ्चालक समितिले मात्रै चाहेर खानेपानी सञ्चालन गर्ने अवस्था नरहेको संस्थाका अध्यक्ष गोपाल नेपालले जानकारी दिए । उनका अनुसार सञ्चालक समिति र सल्लाहकार समितिको निर्णयबमोजिम संस्थामा रहेको मौज्दात रकम उपभोक्तालाई नै फिर्ता गरी अचल सम्पत्तिसहित पिठुवा खानेपानीसँग समाहित गर्ने निर्णय गरिएको थियो ।

सो निर्णय कार्यान्वयन नहुँदै अर्को उपभोक्ता समितिमार्फत खानेपानी नियमित गरिएको हो । बागमती प्रदेश सरकारले आव २०८१र८२ मा सो खानेपानीको लागि ५ लाख रुर्पैयाँ बजेट विनियोजन गरेको थियो । सोही योजना कार्यान्वयन गर्न स्थानीय हरिप्रसाद ढकालको अध्यक्षतामा बनेको उपभोक्ता समितिले नै ुखानेपानी नियमित गरेको हो ।

प्रदेश सरकारको बजेटबाट समितिले मुहान संरक्षणको कार्य सम्पन्न गरेको छ । गत शनिबार आयोजित उपभोक्ताहरुको एक भेलाले सो योजनाको खर्च सार्वजनिक गरेको थियो । विनियोजनभन्दा केही रकम घटेर भएको सम्झौताअनुसार प्रदेश सरकारको कुल तीन लाख त्रिसठ्ठी हजार र जनश्रमदानको ४० हजार गरी झन्डै चार लाख चार हजार रुपैयाँबराबरको कार्य सम्पन्न गरिएको छ ।

भेलामा रत्ननगर-१५ का वडाध्यक्ष आशिक तामाङले अप्ठेरो अवस्थामा पानी खुवाएको यस्ता ग्रामीण खानेपानीको संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रविधि र आधुनिकतामा निर्भर खानेपानी संस्थाको सेवा कुनै पनि बेला अवरुद्ध हुनसक्ने भन्दै तामाङले प्राकृतिक मुहानबाट सञ्चालन हुने दिग्दर्शन खानेपानीको संरक्षणको लागि स्थानीय सरकार सधैँ साथमा रहने बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष प्रभु लामिछाने, पूर्वअध्यक्ष भोजराज लामिछाने, पिठुवा खानेपानीका सचिव रुपेश तिवारीलगायतले मन्तव्य राखेका थिए ।दिग्दर्शन सामुदायिक भवनमा भएको सो कार्यक्रम उपभोक्ता समिति सचिव हेमप्रसाद पन्तले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट