चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले जनरल अस्पताल (नन क्यान्सर अस्पताल) र क्यान्सर अस्पतालमा आउने क्यान्सरका बिरामीलाई तीन प्रकारको उपचार पद्धतिबारे तालिम दिन शुरु गरेको छ । अस्पतालले क्यान्सर पहिचान हुँदा बित्तिकै, क्यान्सरको उपचारको क्रममा र क्यान्सरको उपचार सकिएपछि पुनः देखिएको अवस्थामा बिरामीको कसरी उपचार गर्ने भन्ने बारेमा तालिम दिन शुरु गरेको हो ।
तालिम संयोजक एवं अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. गुरु शरण साहका अनुसार ‘फाउण्डेशन कोर्ष टु: एक्युट अंकोलोजी सर्भिस’ (Foundation course to Acute Oncology Service) नाम दिईएको तालिम आजबाट अस्पतालमा शुरु भएको छ । सन् २०२२ देखि दुई वर्षसम्म युकेबाट अनलाईन मार्फत् तालिम प्राप्त अस्पतालका चिकित्सक नर्सले तालिम दिईरहनु भएको छ । यस्तो प्रकारको तालिम नेपालमै पहिलो पटक आयोजना गरिएको उहाँको भनाई छ ।
यो तालिममा पश्चिम नेपालका सबै प्रादेशिक अस्पतालहरुलाई सहभागी हुन भनिए पनि सहभागी नभएको भन्दै डा. साहले क्यान्सर अस्पताकै डाक्टर, नर्स र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका ३९ जना चिकित्सक, नर्स सहभागी रहेको जानकारी दिनुभयो ।
क्यान्सर अस्पतालमै पनि क्यान्सर रोगले गर्दा अथवा क्यान्सरको उपचारले गर्दा आउने जटिलताबारेमा वैज्ञानिक हिसाबले नसोचिएको भन्दै उहाँले भन्नुभयो “अझै पनि सबै प्रोटोकल बेसमा उपचार भएको छैन ।” क्यान्सरका बिरामी उपचारकै क्रममा केमो थेरापी वा रेडिएसन थेरापीपछि घर जाने भन्दै उहाँले घर गएको समयमा जटिलता आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “क्यान्सरका “केही जटिलताबारेमा हामीले पहिले नै औषधि मिलाउँछौं, तर आकस्मिक रुपमा हुने जटिलताको उपचार कुनै अस्पतालमा हुँदैन ।”
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा इमर्जेन्सी वार्ड भएपनि प्रोटोकल बेस उपचार अझै हुन नसकेको बताउँदै उहाँले भन्नुभयो “इमर्जेन्सी बिरामीको वर्गीकरण गरेर तुरुन्त उपचार गर्नुपर्नेलाई तत्काल उपचार शुरु गर्ने र सामान्य भएमा बहिरंग (ओपिडी) मार्फत् उपचार गर्ने वातावरण मिलाउनु पर्छ ।” क्यान्सर अस्पतालको इमर्जेन्सी वार्डको सेवालाई विश्वस्तरीय हिसाबले वैज्ञानिक र थप प्रभावकारी बनाउन यो तालिम फलदायी हुने उहाँको भनाई छ ।
डा. साहले भन्नुभयो “केमो लगाईसकेको बिरामी घर जान्छ । घर गएपछि ज्वारो आउने, वान्ता आउने, रगतको मात्रा घट्ने समस्या भएमा बिरामी पुग्ने भनेको आफ्नो नजिकको अस्पतालमा हो ।” क्यान्सरको उपचार गराईरहेको बिरामी इमर्जेन्सी भएर जुनसुकै जनरल अस्पतालमा गयो भने “यो क्यान्सर हो, हामी क्यान्सरको उपचार गर्न जान्दैनौं, तपाई पहिला उपचार गरेकै अस्पताल जानुहोस्” भनेर पठाउने गरेको डा. शाहको भनाई छ । यस्तो अवस्थामा स्थानीय स्तरकै जनरल अस्पतालमा उपचार गर्ने वातावरण मिलाउन सकेमा प्रभावकारी हुने भन्दै उहाँले भन्नुभयो “बिरामीको एक त समयमा उपचार हुन्छ, अर्काे अकालमै हुने मृत्यु रोकिन्छ ।”
यो तालिम अहिले क्यान्सर अस्पतालबाट शुरु गरेको बताउँदै डा. साहले यो सेवालाई पहिलो चरणमा प्रादेशिक अस्पतालका जनशक्तिलाई तालिम दिएर सामान्य उपचार त्यही गर्ने वातावरण सिर्जना गरिने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले मोफसलमा रहेका कारण वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पछाडि परेजस्तो देखिएको भन्दै यहाँको जनशक्ति र सेवा नेपालका अन्य अस्पतालका लागि शिक्षा बन्ने बताउनुभयो । पछिल्लो समयमा अस्पतालमै आएर तालिम लिनेहरुको संख्या बढेको भन्दै उहाँले नियमित तालिमहरु आयोजना हुन थालेको बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij