चितवन : पूर्वी चितवनको कालिका नगरपालिकाका ३२ जना युवाले ७० दिने लोकसेवा तयारी कक्षा पूरा गरेका छन्। खैरहनीस्थित लोकसेवा सारथी प्रा.लि.को सहकार्यमा कालिका नगरपालिकाले आयोजना गरेको तयारी कक्षा बिहीबार सम्पन्न भएको हो। समापन समारोहमा बोल्दै प्रमुख अतिथि तथा कालिका नगर प्रमुख विनोद रेग्मीले सरकारी सेवामा प्रवेशका लागि युवालाई सहयोग पुर्याउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो।
“म कालिकाका युवाहरूलाई निजामती सेवाको उच्च पदमा देख्न चाहन्छु,” उहाँले भन्नुभयो, “बैदेशिक रोजगारीको मोहमा गाउँ खाली हुँदै गएको अवस्थामा सरकारी जागिरले देशमा नै अवसर सिर्जना गर्न सक्छ।” उपप्रमुख विमला तामाङले नगरभित्रका युवालाई लक्षित गरी यस्तो कार्यक्रम गरिएको बताउँदै परीक्षामा सफलता हासिल गर्न जिम्मेवार भएर तयारी गर्न आग्रह गर्नुभयो। लोकसेवा सारथी प्रा.लिका सञ्चालक महेश घिमिरेका अनुसार २०७६ सालमा स्थापना भएको संस्थाले अहिलेसम्म १५ हजार युवालाई तयारी कक्षा दिएको छ, जसमा एक हजार २०० जना सरकारी सेवामा नियुक्त भइसकेका छन्।
७० दिने तयारी कक्षा ८० प्रतिशत लागत नगरपालिका र २० प्रतिशत प्रशिक्षार्थीको लगानीमा सम्पन्न गरिएको हो। कक्षामा सुकदेब लम्साल, ऋषिप्रसाद कडुवाल, झलकुमार श्रेष्ठ, अर्जुन लामिछाने, सविता अर्याल, तीर्थराज खनाल, सुवास कुँवर, रमेश अधिकारी र विष्णु अधिकारीले प्रशिक्षण दिएका थिए। महिला विकास अधिकृत सम्झना ढकालले सञ्चालन गरेको कार्यक्रमको सहभागीको तर्फबाट सुन्तलीमाया स्याङ्तान, सेवक अधिकारी र रमा पौडेलले मन्तव्य व्यक्त गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij