वासिङ्टन डीसी : अस्ट्रेलियन पप गायिका काइली मिनोग बिरामी परेकी छिन् । बिसन्चोकै कारण गायिकाले युरोपमा हुन लागेको आफ्नो आगामी चार शो स्थगित गर्ने घोषणा गरेकी छिन् । काइली मिनोग बेलायतमा ‘टेन्सन’ टुरमा थिइन् ।
तर आवाजमा समस्याका कारण उनले आफ्ना चारै शो रद्द गर्नुपर्यो । सात वर्षमा यो उनको पहिलो वर्ल्ड टूर थियो । उनको करियरको भने यो १६ औँ टुर थियो । सोमबार मिनोगले बर्लिनमा प्रस्तुति दिनेवाला थिइन् । त्यसपछि पोल्याण्ड, लिथुआनिया र इस्टोनियामा कन्सर्टहरू हुनेवाला थियो । तर स्वास्थ्यमा समस्या आएपछि गायिकाले शो स्थगित गर्ने घोषणा गरेकी छिन् ।
‘मेरा प्रेमीहरू, तपाईँहरूमध्ये कसैलाई थाहा होला, एक हप्ता अघि हामीले बेलायतमा ‘टेन्सन’ टुरको प्रचार गरेका थियौँ । म लगभग सफल भएँ तर दुर्भाग्यवश भाइरल सङ्क्रमणको सिकार भएँ । मेरो अर्को कन्सर्ट सुरु गर्न मैले छिट्टै निको हुने प्रयास गरेँ तर मलाई लाग्छ कि मलाई स्टेजमा फर्कन धेरै समय लाग्नेछ । म धेरै, धेरै माफी चाहन्छु! बर्लिन, लोड्ज, कौनास र टालिनमा हुने शोहरू स्थगित गर्नु बाहेक मसँग अरू कुनै विकल्प छैन ।’
माइक्रो ब्लगिङ वेबसाइट एक्समा मिनोगले एउटा पोस्टमा लेखेकी छिन् । पोस्टमा गायिकाले शोका टिकटहरू सम्हालेर राख्न भनेकी छिन् । शोका लागि नयाँ मिति तय गर्ने प्रयास भइरहेको र चाँडै नै यसको अपडेट दिइने पनि उनले पोस्टमा भनेकी छिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij