चितवन, ३० जेठ : चितवनको भरतपुरमा वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहको संलग्नतामा रहेको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसका पाँच जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुख्य संचालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भन्दै परिचित अर्जुन सापकोटा, कमला सापकोटा, सागर खरेल र सविन थापा पक्राउ परेका हुन्।
मुख्य अभियुक्त राजेन्द्र सापकोटा फरार रहेको अवस्थामा काठमाडौंबाट पक्राउ परेका हुन् भने अर्जुन सापकोटासहित अन्य चार जना भरतपुरबाट नियन्त्रणमा लिइएको हो। अर्जुन सापकोटाले पीडितलाई सामाजिक सञ्जाल तथा फोनमार्फत धम्की दिने गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
त्यस्तै, कमला सापकोटाले पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई नै धम्क्याएकी थिइन्। सँगै रहेका सागर खरेल र सविन थापा पनि पत्रकारमाथिको अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।
पीडितहरुले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै बेस्ट ब्रेन एजुकेशनले युकेमा रोजगारी दिलाउने प्रलोभन देखाई ७१ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए। उनीहरुले अञ्जु कंडेल, सागर भट्टराई र शान्ति कंडेलको नाममा रकम लिइएको दाबी गरेका छन्।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij